प्रगतिशील कर नीति आवश्यकः मुख्यमन्त्री गुरुङ



म्याग्दी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।

बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक छ भन्नुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले एकै शीर्षकमा कर लिन थालेको भनेर भ्रम फैलाइएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । “हामीले राज्य सञ्चालनका लागि स्रोतको पहिचान र व्यवस्थापन गरेर जनतालाई विकास र सेवा दिन खोजेका हाँै । प्रगतिशील कर नीति अपनाउँछौँ । करको विषयमा फैलिएको भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु,” मुख्यमन्त्री गुरुङ्ले भन्नुभयो ।

कर सङ्कलन, अधिकार क्षेत्रका विषयमा भएका कानूनी अस्पष्टता र अन्यौल हटाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्राथमिकताका साथ छलफल अघि बढाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उहाँले प्रदेश सरकारले जग्गा बाँझो राखेबापत कर तिराउने र खेतीयोग्य जमीनको उपभोग गर्नेलाई प्रोत्साहन गर्ने नीति लिने बताउनुभयो ।

आगामी पाँच वर्ष भित्रमा सबै स्थानीय तहको केन्द्रसम्म ग्राभेल सडक, प्रदेशका सबै बस्तीमा विद्युत् र खानेपानी सुविधा विस्तार गर्न प्राथमिकतासाथ बजेट विनियोजन गरेर कार्यान्वयनका लागि विस्तृत अध्ययन शुरु गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्