प्रदेश–३ मन्त्रिपरिषद् बैठकः ६ महिनाको काम सन्तोषजनक



नेपाल समाचारपत्र, हेटौंडा ।
प्रदेश–३ को मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले छ महिना अवधिमा गरेका कामबाट ‘पूर्णसन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

बुधबार मन्त्रिपरिषद् कार्यालयमा बसेको समीक्षा बैठकले हालसम्मका कामको समीक्षा गर्दै काम ‘सन्तोषजनक’ रहेको समीक्षा गरेको हो । ‘पूर्णरुपमा सन्तुष्ट भन्न त मिल्दैन तर असन्तुष्ट हुने ठाउँ पनि छैन,’ सञ्चारकर्मीसँग मुख्यमन्त्री डोरमणि पौडेलले भन्नुभयो–यो अवधिमा भएका काम सन्तोषजनक छन्, कामको गति ठीक छ ।

उहाँले बैठकमा विगतको कामको समीक्षा र आगामी दिनमा कसरी जाने भन्नेबारे योजनाबारे छलफल भएको बताउनुभयो । ‘यसबीच धेरै कानुन बनेका छन् र धेरै विधेयक पनि । केही दिनभित्र विकास निर्माणका कामहरु पनि सुरु हुने भएकाले ससाना असन्तुष्टिका पक्षमा अल्झिरहनु हुँदैन,’ पौडेलले भन्नुभयो ।

प्रदेशका लागि तय भएका कर्मचारी संगठन संरचना पुनर्मूल्यांकन गर्न संघीय सरकारलाई पत्र लेख्नेबारे पनि बैठकमा छलफल भएको थियो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी हुनुभएको थियो ।

बैठकले ३ विधेयक स्वीकृत गरी प्रदेशसभामा पठाउने निर्णय गरेको छ । प्रादेशिक स्वास्थ्य तथा पोषणसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव रमेशप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्