बर्षे बाली जोगाउन रातभर जागराम



हिक्मत नेपाली, दैलेख ।

खेती उठाउँदा जति खुशी हुन्छन, दैलेख दुल्लु नगरपालिकाका किसान हुर्कदै गरेको बाली जोगाउन उति नै चिन्ता गर्न थालेका छन् । वर्षभरि खाने र परिवार पाल्ने आधारका रुपमा रहेको खेती बाली जंगली जनावारले नष्ट गर्न थालेपछि दुल्लु नगरपालिका वडा नं. ५ र ८ का किसानलाई बाली जोगाउनै हम्मे हम्मे परेको छ ।

जंगली जनावरहरुले बर्षे खेती नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जागराम बस्ने गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

जंगली जनावरले वर्षेबालीको रुपमा रहेको मकै नष्ट गर्न थालेपछि स्थानीय किसान चिन्तित बन्न थालेका छन् । मुख्य खाद्य बालीका रूपमा रहेको मकै बाली लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । दुल्लु नगरपालिका ५ रनुखानाका स्थानीय कृषक थिर प्रसाद जैसी रिमाललाई मकैको घोगा लाग्ने बेला जंगली जनावर बंदेल र दुम्सीले मकैबाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको छ ।

जंगली जनावरहरुले बर्षे खेती नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जागराम बस्ने गरेको स्थानीय कृषक रिमालले बताए । बारीको नजिकै बनाइएको टौवामा बसी पहरा दिए पनि मकैबाली जोगाउन भने मुस्किल भएको कृषक कमला रिजालले बताइन् ।

कृषक टिकाराम शर्माका अनुसार जंगली जनावरले गर्दा आफुहरु मर्कामा परेको बताए । गत ३ बर्ष देखि बदेल र दुम्सीले यसरी मकै नष्ट गरे पनि वडा कार्यालय तथा नगरपालिकाले कुनै चासो नदिएको शर्माले गुनासो गरे ।

मकैको घोगा लाग्न सुरु भए देखी मकै पाकेर नभित्राउन्जेल सम्म हरेक राति आफ्नो बास मकै बारीमा हुँदै आएको कृषक ओम प्रसाद रिजाल बताउछँन । जंगली जनावारले मकै बाली नष्ट गदै जाँदा आफुहरु बर्षा लागेसंगै सुत्न समेत नपाएको यहाँका कृषक बताउछँन् ।

बदेलले मकै नष्ट गरेको ठाउँमा कृषकहरुले बोतलमा सलाईका काँटी र चुना हालेर रातिको समयमा पट्काउने सामाग्रि बनाउने गरेका छन् ।

पानी ढिला परेका कारण मकैको घोगा लाग्ने समयमा जंगली जनावरले मकै बाली नस्ट गर्दा समेत स्थानीय सरकारले आफ्ना गुनासो नसुनेको कृषक ओम प्रसाद रिजालले बताए । उता नगरपालिकाका नायब सुब्बा प्रेम खड्काले वडा कार्यालयबाट सिफारिस ल्याएर आएमा जंगली जनावर नियन्त्रणका लागि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्