रकम अभावमा निर्माणाधिन चिस्यान केन्द्र भवन अलपत्र



नेपाल समाचारपत्र पर्वत ।
पर्वतको मोदी गाउँपालिका – २ देउपुरमा कोल्डस्टोर निर्माण सुरु गरिएको चिस्यान केन्द्र रकम अभाबमा अलपत्र बनेको छ ।

भवन निर्माणका लागि आवश्यक रकम अभाब भएपछि अलपत्र परेको भवन भत्कने अवस्थामा पुगेको हो ।

मोदी २ देउपुरका खेमबहादुर हमालले ५ आना जग्गा दिएपछि भवन निर्माण सुरु गरिएको थियो । निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाका अनुसार सुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाखभन्दा बजेट आएन ।
‘बजेट विनियोजन भएपछि काम सुरु गरिहाल्यौं,’ उनले भनिन ‘निकासा हुने बेला २४ लाख मात्रै भयो । काम बीचैमा रोकिएको छ । त्यसपछि रकमान्तर भएछ । हाम्रो दबाब पुगेन ।’ महिला अध्यक्ष भएर सुरु गरेको भए पनि बजेट विनियोजनमा समेत राजनीतिकरण भएको उनले गुनासो गरिन ।

दुई तले चिस्यानकेन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो । तर, लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलाल गरेर अलपत्र अवस्थामा छोडिएको छ । अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँसपराल राख्ने स्टोरका रुपमा प्रयोग गरेका छन् । भवन बेवारिसे भएपछि तत्कालीन समय गरेको ढलान र प्लास्टरसमेत काम नलाग्ने भइसकेको छ ।

चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानीयले मोदी २ देउपुर, मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारेका छन् । तर, अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताए । ‘हामीले वडाबाट गाउँपालिका, प्रदेश हुँदै केन्द्रसम्म बजेट माग गरेका छौं,’ उनले भने, ‘प्रदेशमा एकमुष्ठ बजेट छुट्टिएको सुन्नमा आएको छ , पैसा आउने निधो छैन ।’

मोदीको देउपुरमा मात्रै बर्से्नि ३ करोडको सुन्तला उत्पादन हुन्छ । सिजनमा ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला अपसिजनसम्म राख्न सके १ सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने किसानले बताएका छन ।

‘हाम्रै सुन्तलाको ३ गुणा बढी मूल्य पथ्र्यो,’ किसान दाताराम चापागाईंले भने, ‘त्यसैका लागि हारगुहार गरेर सुरु भएको हो । अहिले अलपत्र परेको देख्दा मन खिन्न हुन्छ ।’ त्यसबाहेक क्याङ र लेस्पारमा फल्ने आलुको बीउ स्टोर गर्न सके बीउको सिजनमा प्रतिकिलो ७० रुपैयाँमा बिक्री गर्न सकिने किसानहरु बताउँछन ।

विज्ञहरुले भने कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भवनको क्षेत्रफल अनुसार क्षमता कम हुने बताउँछन । ‘लागत स्टिमेट र योजना ठूलो देखिन्छ,’ उनले भने, ‘कोल्डस्टोरको भवन अलि ठूलो क्षेत्रफलमा चाहिन्छ ।

यो भवनले लक्ष्य पूरा हुनसक्ने देखिन्न ।’ ५ आना जग्गामा २४ फिट चौडाइ र ५२ फिट लम्बाइको भवनले जिल्लाभर उत्पादन हुने अन्न तथा फलफूल स्टोर गर्न असम्भव हुने उनले बताए । ‘यो जिल्लाकै गौरवका रुपमा स्थापित हुनुपर्छ ।

यहाँ कोल्डस्टोर भएपछि पोखरा जानबाट किसान मुक्त हुनुपर्छ । त्यो सम्भव छैन,’ रेग्मीले भने । अहिलेसम्म किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत चिस्यान केन्द्रमा राख्न प्रतिक्विन्टल दुई हजारसम्म भाडा तिरेर पोखरा लैजाँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्