नाटकबाट बालअधिकारको वकालत



लमजुङ, (नेस)। लमजुङको जिल्ला सदरमुकाम बेंसीशहरमा बालबालिकाले नाटकका माध्यमबाट बालअधिकारको वकालत गरेका छन्। सामुदायिक रुपान्तरणका लागि युवा नेपालको आयोजनामा गरिएको अन्तरमाध्यमिक विद्यालयस्तरीय नाटक प्रतियोगिताका सहभागीले यस्तो वकालत गरेका हुन्।

विद्यार्थी आपैंmले तयार गरेको नाटकका माध्यमबाट उनीहरूले समाजमा झांगिँदो विकृति विसंगति,अभिभावकले आफ्ना छोराछोरीलाई समय र माया नदिएको, प्रायः बाबुआमा नै जागिरे भई घरबाहिर हुने र घरमा बस्दा पनि मोबाइलमा झुन्डिने र बालबालिकालाई घुम्न समय नदिएकोप्रति व्यंग्य गरेका थिए। उनीहरूले नाटकका माध्यमबाट बालविवाह, बहुविवाह तथा बालबालिकाको कर्तव्य र दायित्वका बारेमा समेत सचेतना जागृत गर्ने प्रयास गरेका थिए। बालअधिकार सबैको सरोकार विषयको प्रतियोगितामा लालीगुराँस बोर्डिङ स्कुल सुन्दरबजारको टिम प्रथम, विद्या ज्योति मावि तार्कु खहरे दोस्रो, डाइमन्ड हिल बोर्डिङ स्कुल बेंसीशहर तेस्रो, मनकामना बोर्डिङ स्कुल भकुण्डे र महेन्द्र मावि परेवाडाँडा सान्त्वना भए।

ग्रामीण सामुदायिक विकास केन्द्रको सहयोगमा भएको प्रतियोगितामा नाटकको मूल्यांकन मञ्जरी नाट्य समूहका भरत राना, सञ्चारकर्मी तथा लमजुङ जेसिजका अध्यक्ष अनुज अधिकारी र लमजुङ कृषि क्याम्पसका सहप्रध्यापक कृष्णबहादुर कार्कीले गरेका थिए। बाल्यकाल रमाउनका लागि हो, कमाउनका लागि होइन भन्ने नाराका साथ सञ्चालित प्रतियोगितामा प्रथम हुने टिमलाई पुरस्कारस्वरुप ट्रफी र प्रमाणपत्रका साथ ५ हजारबराबरका स्टेसनरी सामग्री, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वना हुनेलाई १ हजारबराबरका सामग्री प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्