रियलको लगातार दोस्रो जित



लन्डन, (एजेन्सी)
प्रि–सिजन च्याम्पियन्स कपमा स्पेनिस ला लिगा क्लब रियल मेड्रिडले लगातार दोस्रो जित दर्ता गरेको छ ।

प्रतियोगिता अन्र्तगत बुधबार विहान भएको खेलमा रियलले इटालियन सिरी ए क्लब एफसी रोमालाई २–१ गोलअन्तरले पराजित गरेको हो । अमेरिकामा भएको खेलमा रियललाई जित दिलाउन मार्को एसेन्सियो र गेरेथ बेलले समान एक–एक गोल गरेका थिए । रोमाका केभिन स्ट्रुटम्यानले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको १५ औं मिनेटमा बेलले गोल गरेपछि रियलले पहिलो हाफमा २–० ले अघि रह्यो । दोस्रो हाफमा रोमाले एक गोल फर्काएपनि हार टार्न सकेनन् । खेलको ८३ औं मिनेटमा रोमाका स्ट्रुटम्यानले एक गोल फर्काएका थिए । यसअघि रियल मेड्रिडले युभेन्ट्समाथि ३–१ को जित निकालेको थियो भने म्यानचेस्टर युनाइटेडसँग २–१ ले हारेको थियो ।
चेल्सी विजयी

प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन कपमा इंग्लिस प्रिमियर क्लब चेल्सीले विजयी भएको छ ।

चेल्सीले फ्रेन्च क्लब लियोनलाई सडनडेथमा पराजित गरेको हो । चेल्सीले लियोनलाई सडनडेथमा ५–४ ले पराजित गरेको हो । मंगलबार राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा दोस्रो हाफमा मैदान छिरेका चेल्सीका गोलकिपर रोबर्ट ग्रीनले एक पेनाल्टी बचाएका थिए । रोबर्ट ७४ औं मिनेटमा मार्सिनल बुल्काको स्थानमा मैदान छिरेका थिए । निर्णायक पेनाल्टीमा इडेन हाजार्डले बललाई गोलमा परिणत गरेका थिए । खेलमा दुवै टिमले गोल गर्ने मौकालाई सदुपयोग गर्न सकेनन् ।

चेल्सीले जितसहित प्रि–सिजनको अन्त्य गरेको छ । चेल्सीले प्रि–सिजनमा दुई जित निकाल्यो । यसअघि पर्थ ग्लोरीमाथि चेल्सीले १–० को जित निकालेको थियो । त्यसपछि इन्टर मिलान र आर्सेनलसँग पेनाल्टी सुटआउटमा तथा कम्युनिटी शिल्ड कपमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्