जुडो टोली बुडापेस्ट तिर



काठमाडौं, (नेस)
इन्डोनेसियामा हुने एसियाली खेलकुदमा पदक ल्याउने लक्ष्य लिएको जुडो खेलका खेलाडीहरु हंगेरीको बुडापेस्टतिर बुधबार प्रस्थान गरेको छ ।

भीसाको समस्याले बुडापेस्ट हुने बुडापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुने वा नहुने तय भएको थिएन । एसियाडमा खेल्ने सातै खेलाडीको भीसा मिलेपछि हिजै त्यतैतिर प्रस्थान गरेको नेपाल जुडो संघले जनायो । यही साउन २५ देखि २७ गतेसम्म हुने प्रतियोगितामा पुरुष खेलाडीतर्फ इन्द्रबहादुर श्रेष्ठले ७३ केजीमुनि, सन्जीत डंगोलले ९० केजी मुनि, श्रीराम माकजु र रविन श्रेष्ठले १ सय केजी मुनि सहभागिता जनाउनेछन् । यसै साता बंैककमा भएको नर्थ थाइल्यान्ड जुडो च्याम्पियनसिपमा इन्द्रबहादुरले स्वर्ण पदक जितेका थिए ।

महिलातर्फ ७८ केजीमुनि पुनम श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि देविका खड्काले सहभागिता जनाउनेछन् । यसमध्ये मनीताले थाइल्यान्डमा भएको जुडो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । एसियाली खेलकुदमा सहभागिता हुने अर्की महिला खेलाडी फुपु ल्हामु खत्री भने जापानमै प्रशिक्षण लिइरहेकी छिन् ।

बुडापेस्टमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा पनि गर्ने र प्रशिक्षण पनि लिने जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले बताउनुभएको थियो । बज्राचार्यले भन्नुभयो—प्रतियोगिता समाप्त भएपछि जुडोका खेलाडीले हंगेरीमै प्रशिक्षण लिनेछन् । अगस्ट २५ मा उनीहरु उतैबाट इन्डोनेसिया जानेछन् ।

प्रतिक्रिया दिनुहोस्