‘वडासँग फोहोर उठाउने गाडी छैन’



राजेन्द्र मानन्धर
वडाध्यक्ष, कामपा २० वडा

काठमाडौंको प्राचिन बस्ती मध्येको एक हो काठमाडौं महानगरपालिकाको २० वडा । महानगरका अन्य वडा भन्दा भूगोलमा सानो भएपनि काष्ठमण्डप, गणेशथान (अशोक विनायक), भिमसेन मन्दिर, रामघाट, जैसिदेवल जस्ता प्राचिन सम्पदा यहाँ अटाएका छन् । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरवार स्क्वायरको काखैमा रहेको वडाका विविध पक्ष, समस्या समाधानमा भइरहेका पहलबारे सो वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरसँग नेपाल समाचारपत्रले गरेको कुराकानी ।

वडाध्यक्ष भएर तपाईँले स्थानिय तहको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भइसकेको छ । यो अवधिलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
यस भन्दा अघि यस्तो जिम्मेवारीमा नभएकोले मेरो लागि नयाँ अनुभव भयो । काठमाडौंको कोर सिटी भित्रको वडा भएकाले धेरै किसिमका धार्मिक सम्पदा छन्, ठूलो व्यापार व्यवसाय नभएको ठाउँ छ । एक/दुई आनामा बनेका घर र साँघुरो सडक धेरै छन् ।

तै पनि ठूलो झै झगडा र अन्य समस्या भएको छैन । वडामा समस्या लिएर आउने वडाबासीका कुनै पनि काम रोकेका छैनौ जति सक्दो छिटो उहाँहरुको काम सम्पन्न गर्ने प्रयास गरिरहेका छौ ।

तपाईले निर्वाचनको समयममा गर्नु भएका प्रतिवद्धता के–के पुरा गर्नुभयो ?
महानगर भएकाले फोहोर मैला व्यवस्थापन र सडक बत्ति व्यवस्थित हुनुपर्छ भन्ने लाग्छ । सडक वत्ती व्यवस्थित गर्न एक जना वडा सदस्यलाई जिम्मेवारी तोकिएको छ । पूर्वाधार विकासका लागि पनि अर्का वडा सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

उहाँहरु हरेक दिन आफ्नो जिम्मेवारीमा खट्नु भएको छ । निर्वाचनको समयमा मैले ठूलो र असंभव हुने कुरा मैले केही पनि गरेको थिइन, वडाको दैनिक काम कार्वाहीलाई व्यवस्थित बनाउने मेरो प्राथमिकता थियो । त्यो अहिले प्रभावकारी ढंगमा भइरहेको छ ।

अहिले एउटै कामको लागि वडाबासी वडा कार्यालय धाइरहनु पर्दैन । यो वडा सम्पदाले घेरिएको, भरिएको वडा भएकाले पर्यटकीय रुपले विकास गर्नुपर्छ भन्ने कुरामा मैले जोड दिएको थिए । अहिले काम अघि बढिरहेको छ ।

त्यसका लागि के–के गर्दै हुनुहुन्छ ?
पर्यटकीय गतिविधी र पर्यटकको सुविधालाई प्राथमिकतामा राखेर छुट्टै गुरु योजना बनाइरहेका छौ । पर्यटकहरु परोपकार हुँदै हनुमान ढोका र बसन्तपुर पैदल पुग्ने गरेका छन्, तर पर्यटक हिड्ने सडक आसपासमा फोहोरमैला थुप्रिएको हुन्छ ।

पहिलो कुरा त सडक र आसपासको क्षेत्रलाई राम्रो बनाउनु प¥यो । पर्यटक प्रवेश गर्ने प्रवेशद्धार नै राम्रो भएन भने त्यसले पक्कै पनि गलत सन्देश दिन्छ भनेर विष्णुमति लिंकरोड र अन्य सडक व्यवस्थित बनाउन जरुरी छ । पर्यटकको चहल–पहल हुने हनुमान ढोका संरक्षण कार्यक्रम पनि हाम्रै क्षेत्रभित्र पर्छ ।

पर्यटकहरुले ‘अब हामीहरु मौलिक सँस्कृतिको सहरमा हामी छि¥यौ’ भन्ने अनुभूति दिलाउने वातावरण बनाउनुपर्छ । यो हाम्रो एउटै वडाले मात्रै पर्यटकीय गतिविधी र भएका समस्या समाधान गर्न संभव हुँदैन भनेर १९, २०, २३, २४ वडा वीच छलफल भइरहेको छ । जात्रा, पर्व, संस्कृति र पर्यटकीय गतिविधीका लागि विभिन्न वडा समेटिएको छुट्टै टीम नै छ ।

पर्यटक हिड्ने सडक र फुटपाथ सफा हुन गुरु योजना नै कार्यान्वयन हुनुपर्छ र ?

सरसफाई दैनिक रुपमा भइरहेकै छ, नभएको चाहिँ होइन । समस्या के छ भने हाम्रो वडासँग फोहोर उठाउने छुट्टै गाडी छैन । महागरपालिकाबाट फोहोर उठाउने गाडी आउँछ, त्यो गाडी विहान ८ बजे अघि नै आउँछ, फोहोर उठिरहेको पनि हुन्छ ।

तर तपाईले सडकमा देख्ने फोहोर विहान ८ बजेपछिको हो । फोहोरको गाडी आएपछि फोहोर लिएर आउनु भनेर वडाबासीलाई भन्ने गरेका छौ तै पनि फोहोर मैला संकलन व्यवस्थित हुन सकिरहेको छैन । बहालमा बस्नेहरुलाई समस्या छ, उनीहरुका लागि कोठा र घरमा फोहोर जम्मा गर्ने ठाउँ हुँदैन । वडाका लागि छुट्टै गाडी भयो भने हामीले विहान, दिउँसो, बेलुका फोहोर उठाउन सक्छौ, यस्तो समस्या हुन्न ।

हामीसँग गाडी छैन, गाडी चाहियो, ढल जाम भएपछि तत्काल सफा गर्ने मेसिन चाहियो भनेर महानगरलाई बारम्बार माग गरेका छौ । बोर्ड बैठकमा यो विषयमा ध्यानाकर्षण गराएका छौ ।
भूकम्पले भत्काएका घर, टहरा अझै मर्मत हुन सकेका छैनन्, भत्किएका संरचना सफा हुन सकेको छैन ।

यो समस्याका लागि वडाले सहजीकरण गर्न नसकेको हो ?
महानगरपालिकाले विभिन्न शीर्षक तोकेर नै बजेट विनियोजन गर्छ । हामीले बजेट खर्च गर्दा बजेटमा भएको व्यवस्था अनुसार नै गर्नुपर्ने हुन्छ । बजेट दायाँ–बायाँ गर्नै मिल्दैन । तपाईले उठाउनु भएको समस्या सम्बोधन गर्न नयाँ बजेट चाहिन्छ, महानगर आफै जमानी बसेर बैंक लोनको व्यवस्था ग¥यो भने राम्रो हुन्छ ।

हामीसँग औजारै छैन भने कसरी गर्न सकिन्छ, वडाले सक्दैन भनेर यो समस्या महानगरलाई जानकारी गराएका छौ । तर महानगरले प्रष्ट जवाफ दिएको छैन । भूकम्पले भत्किएका घर नबन्नु, भत्किएको घर नयाँ बन्न नसक्नु व्यक्तिको आर्थिक हैसियतसँग जोडिन्छ । तर यहाँ सम्पन्न मान्छेहरु धेरै छन्, घर यहाँ भत्किएपनि घरधनीको घर अरुतिर भएर पनि हुँदा मर्मत संभार नभएको हो ।

सहरी गरिबी धेरै छ भनिन्छ, तपाईको वडामा कस्तो छ यो समस्या ?
वडाका लागि यस्तो तथ्यांक चाहिन्छ । जस्तै भूकम्पले घर भत्कियो कसैको बनाउने हैसियत छैन भने वडाले सहजीकरण गरिरहेको छ । नक्सा बनाउन, प्राविधिक सहयोग र घरका लागि चाहिने काठ पनि सौलियत दरमा दिने गरेका छौ । तर वडाले यस्तो सुविधा दिइरहेको छ भन्ने चेतना सबैलाई छैन रहेछ, त्यही भएर अहिले हामी विभिन्न माध्यमबाट जानकारी गराइरहेका छौ । ९० प्रतिशत वडाबासीको आर्थिक हैसियत कमजोर छैन । कतिपयको अंश मुद्धा र अन्य झगडा छ, साध सिमाना नमिल्दा घर बनाउन पाएका छैनन् ।

पक्कै पनि काठमाडौंमा बस्ने सबै धनी छैनन्, धनी हुँदैनन् । घर हेर्दा ठूलो हुन्छ तर अंशमा बाडफाँड गर्दा धेरै जनाको हुन्छ । एउटा घरमा एउटै परिवारका ४÷५ परिवार बाढिएर बस्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा घर धितो राखेर बैंक लोन लिने संभावना हुँदैन, अनेक समस्या छन् । त्यसैले राज्यले सहरी गरिवी समस्या सम्बोधन गर्न विशेष कार्यक्रम ल्याउनुपर्छ ।

तपाईको वडासँग वडाबासीको विस्तृत पहिचान तथ्यांक छ ?
पहिला हामीसँग प्रोफाइल तयार थियो, तर वर्षौ अघिको प्रोफायल अहिले उपयुक्त भएन । त्यसमा धेरै कुरा छुटेको छ । घर परिवारको आर्थिक अवस्थासँगै वडामा रहेका सबै सार्वजनिक सम्पत्ति, ढुंगेधारा, अन्य सम्पदा, संघ÷संस्था के कति छन् सबै चाहिन्छ ।

घर परिवारको शैक्षिक योग्यता, बहालमा बस्ने लगायत सबैको विवरण चाहिन्छ । अनि मात्रै हामीले वडाका कार्यक्रम तय गर्दा राम्रो हुन्छ । ६÷७ महिनामा वडाको समग्र तथ्यांक अपडेट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्