नल्लु पाथिभरामा तिर्थालुको चहल–पहल



काठमाडौं उपत्यकाभित्रै ताप्लेजुङको पाथिभरा मन्दिरको प्रतिकृति निर्माण भएपछि ताप्लेजुङ पुग्न नसक्ने तिर्थालुलाई सहज भएको छ । दक्षिण ललितपुरको कोञ्ज्योमसोम गाउँपालिका–४ नल्लुमा ताप्लेजुङको मूल पाथिभराकै स्वरुपमा मन्दिर बनेपछि बाह्रै महिना
भक्तजनको चहल–पहल बढ्न थालेको छ ।

शनिवार र मंगलबार त्यहाँ भक्तजनको घुइचो हुने गर्छ । ८ वर्ष अघि त्यहाँ मन्दिर निर्माण भएको हो ।

सातदोवाटो चक्रपथबाट करिव १७ किमीको दुरी छिचोल्दै त्यहाँ पुग्न सकिन्छ । हिजो–आज मध्य वर्षाद्को मौसममा छिनछिनमा घाम पानी र बादलको लुकामारी दोहोरिँदा मध्य शहर बजारको उकुसमुकुस वातावरणलाई केही बेर भएपनि भुल्न सकिन्छ ।

अग्लो भू–भागमा मन्दिर रहेकाले आसपासको प्राकृतिक सौन्दर्यले जो कोहीको मन जित्न, त्यहाँ पुग्नेहरु आसपासको दृश्य क्यामेरामा कैद गर्न बिर्सदैनन् । स्थानीय जयबहादुर स्याङतानले मन्दिर निर्माणका लागि ३ रोपनी जग्गा दान दिएका थिए ।

नल्लु पाथिभरा देवी प्रतिकृति मन्दिर मूल समितिले मन्दिरको भौतिक संरचना निर्माण, प्रचार–प्रसार र अन्य धार्मिक गतिविधीलाई निरन्तरता दिएको छ । समिति अध्यक्ष गणेश बहादुर घलान, कोषाध्यक्ष पुजन बस्नेत, प्रमुख सल्लाहकार जगमोहन वामीको सक्रियता प्रसंसनीय रहेको स्थानीय बताउँछन् । मन्दिर स्थापना हुनु भन्दा वर्षौ अघि त्यहाँ मेला लाग्दै आएको छ ।

चैते दशैं, बुद्ध पूर्णिमा र बडा दशैंको अवसरमा मेला लाग्ने गर्छ । ‘अहिलेको पाथिभरासंगैको रुखमुनि पशुपन्छी बली दिएर भाकल माग्न पुग्नेहरु धेरै बाक्लै आउथे, मन्दिर बनेपछि दर्शन गर्न आउनेहरु धेरै छन्’–समितिका एक पदाधिकारीले भने ।

‘जव मेला र पर्वको बेला हुन्थ्यो तव तव डाँडामा राति सेतो बाघ देवस्थलमा देखिन्थ्यो । त्यो बाघलाई देख्ने गरी भारदेवबाट प्रकाश पुञ्ज देखा पर्दथ्यो’–त्यहाँका बुढापाका यस्तै कहानी सुनाउने गर्छन् । त्यस्तै चर्चा दोहोरिरहँदा स्थानीयले सो क्षेत्रमा पाथिभराको प्रतिकृति बनाउन चासो लिएका हुन् । पाथिभराको हुवहु प्रतिकृतिलाई अभियानकर्ता रमेशकुमार श्रेष्ठ (रमेश गूरु)द्धारा संकल्पगरी स्थापना गरिएको हो ।

ललितपुरको दुर्गम भेगलाई पर्यटकीय हव बनाउन कोञ्ज्योमसोम गाउँपालिकाले ३ करोड १० लाख रुपियाँको बजेट विनियोजन गरेको छ । नल्लु पाथिभराको प्रर्वद्धनका लागि चालु आर्थिक वर्षमा १७ लाख ५० हजार विनियोजन गरिएको विनियोजन गरिएको वडा नं–४का वडाध्यक्ष तीर्थ घलानले बताए ।

प्रतिक्रिया दिनुहोस्