च्याउले फेरिएको जीवन



नेपाल समाचारपत्र, बाँके ।
बाँके केगाउँका लालबहादुर सुनार ६ वर्ष कुवेतमा बसे । गोब्रे च्याउ र तरकारी खेती गर्ने उनको डिउटी थियो । मासिक ८२ हजारसम्म बुझ्थे ।

विदेश गएको दुई वर्ष पुग्दै गर्दा घरमा रहेकी श्रीमती अर्कैसँग हिडिन्, दुई वर्षको छोरीलाई माइतीमा छोडेर । श्रीमती त अर्कैसँग गइन्, उनले जादा जादै विदेशबाट पठाएको दुई लाख ८२ हजारसहित समूह, सरसापट गरी ५ लाख ५४ हजार ऋण लगाइन् ।

सुनार आफै १४ कठ्ठा ७ धुर जग्गा एक लाख १० हजारमा दृष्टिबन्धक राखेर विदेश गएका थिए । ‘दुई वर्षकी छोरीलाई माइती फालेर श्रीमती अर्कैसँग हिडेको कुराले मलाई साह्रै मर्माहित बनाएको थियो । जसोतसो ६ वर्ष काम गरेर घर फर्किए, सुनारले भन्नुभयो, यो अवधिमा मैले साढे १३ लाख रुपैया कमाएको थिए । जग्गा दृष्टिबन्धकको एक लाख १० हजार ब्याजसहित चार लाख १७ हजार पुगेको थियो । श्रीमतीले डुबाएको पाँच लाख ५४ हजार पनि तिरे ।’

अब विदेश नजाने कसम खाएर सुनार स्वदेश फर्किएका थिए । घर आएपछि सुनारले दोस्रो विवाह गर्नुभयो । बचेको पैसा विवाहमा सकियो । सुनारले अन्तरजातीय विवाह गरेका थिए । सुनारले सरकारबाट एक लाख रुपैया पाए ।

त्यही एक लाख रुपैयाले सुनारले नेपालगञ्जमा चाउमिन, मःम र फलफूलका दुई वटा ठेला राखे । पछि उनले नौ वटासम्म ठेला पुर्याएका थिए । उनका सबै ठेलामा ‘विदेशको डलर होइन, नेपालको रोटी चाहियो’ भन्ने लेखिएको थियो ।

चाउमिन, मःम र तरकारी ठेलामा बेचिरहदा उनको सुरेन्द्र खड्कासँग परिचय भयो । सुरेन्द्रले घरमा च्याउ उत्पादन शुरु गरेका थिए । यतिबेलासम्म लालबहादुरले घरमा टमाटर पनि लगाउन शुरु गरिसकेका थिए । तरकारीमा भन्दा च्याउमा फाइदा हुने कुरा सुरेन्द्रले नै उनलाई बतायो ।

२०६९ सालमा उनले र सुरेन्द्रले युवा लक्षित कार्यक्रममा फाराम भरे । ६० हजारको त्यो कार्यक्रममा लालबहादुर छानिनुभयो ।

७ मिटर लम्बाई र ५ मिटर चौडाईको कच्ची टहरामा उनले १ सय २१ पोकाबाट च्याउ खेती शुरु गरे । यति लगाउदा १६ हजार जति खर्च भएको थियो । च्याउ बेच्दा त दुई लाखजति आम्दानी भयो । लालबहादुर उत्साहित भए ।

तीन वर्षअघि उनले १२ मिटर लम्बाई र ५ मिटर चौडाईका आठ वटा र १४ मिटर लम्बाई र चार मिटर चौडाईका तीन वटा गरी ११ वटा पक्की टहरा बनाएका छन् । गएको सिजनमा उनले यी टहरामा २७ हजार चार सय पोकामा च्याउ लगाउनुभयो । यो बेला सुनारले पराल, बिउ, दाउरा, प्लाष्टिक, चुना खरिदको खर्च कटाएर ११ लाख बचत गर्नुभयो ।

सानो टहरा र एक सय २१ पोकाबाट शुरु भएको लालबहादुरको च्याउ खेती अहिले पक्की टहरा हुँदै श्यामसुन्दर च्याउ खेती उद्योगमा परिणत भएको छ । साना तथा मझौला कृषक आयआर्जन कार्यक्रम (रिजम) ले ५० प्रतिशत सहयोगमा लालबहादुरले ५७ लाख ६४ हजार २३ रुपैयाको प्रोजेक्ट चलाइरहेका छन् । उनले आफ्नो तर्फबाट ५० प्रतिशत हाल्दा बैंकबाट ऋण लिएका छन् ।

लालबहादुर बाँकेका च्याउ किसान मात्रै होइन, प्रशिक्षक पनि हुन् । उनले विभिन्न ठाउँमा गएर तालिम दिने गर्दछन् । २०७३ मा तालिम दिन बढी हिड्दा आफ्नै च्याउ खेतीमा नराम्रो असर परेको उनको अनुभव रहेको छ ।

एक वर्षमा तीन सिजनसम्म च्याउ खेती हुन्छ । ‘पहिला फाइदा त राम्रै भयो । तर, कतिसम्म भयो भन्ने यकिन तथ्यांक राखिएन, लालबहादुरले भन्नुभयो, अब व्यवस्थित गर्दैछु । साढे १९ लाख रुपैया बाहिर ऋण तिरिसकेको छु । अब बैंकको ३२ लाख रुपैया तिर्न बाँकी छ । यसको आधा बढी यही वर्ष तिरिन्छ भन्ने विश्वास छ ।’

लालबहादुरले वर्षमा दुई पटक कन्या र एक पटक दूधे च्याउ उत्पादन गर्छन् । थोकमा एक सय ५० रुपैया किलो बेच्ने च्याउको बजार क्षेत्र भनेको नेपालगञ्ज, कोहलपुर, सुर्खेत, कैलाली जिल्ला रहेको छ । ‘दाङ्गबाट पनि माग आइरहेको छ । मैले पु¥याउन सकेको छैन, सुनारले भन्नुभयो ।

बाँकेमा च्याउ खेतीमा अब्बल मानिएका लालबहादुरले भर्खरै एक लाख राशीको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषिमन्त्री चक्रपाणि खनालले उनलाई पुरस्कार दिएका थिए । गत बैशाखमा उनी २५ हजार राशीको क्षेत्रीय पुरस्कारबाट सम्मानित भएका थिए ।

जग्गा दृष्टिबन्धक राखेर विदेशमा पुगेका लालबहादुरको दुई वर्ष नहुँदै परिवार विखण्डन भयो । ६ वर्षमा घर फर्किदा पासपोर्ट च्यातेर आएका उनलाई च्याउ खेतीमा हात हालेपछि ‘पछि’ फर्किनु परेको छैन । आफै विदेशिएको मान्छेले यतिबेला दैनिक सात र सिजनमा २९ जनासम्म मजदुरलाई रोजगारी दिने गरेका छन् । ‘कामदारलाई ९ देखि १६ हजारसम्म तलव दिने गरेको छु, सुनारले भन्नुभयो, च्याउ खेतीबाट मलाई महिनामा डेढदेखि तीन लाखसम्म आम्दानी भइरहेको छ ।’

आफ्नै लगनशील र मेहनतले जिल्लाको नमूना कृषक बनेका लालबहादुरको प्रगति हेर्न राज्यका उच्च पदस्थ व्यक्तिमात्रै होइन, बाहिरी जिल्लाका किसानहरुसमेत आउने गरेका छन् ।

चार दिन अघि उनको घरमै प्रदेश नम्बर ५ की कृषिमन्त्री आरती पौडेल पुगेकी थिइन् । मन्त्रीसँग के सहयोग माग्नुभयो त नि ? लालबहादुरले हाँस्दै भने, आधुनिक यन्त्रका बारेमा कुरा राखेको छु । हेरम के हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्