महको ममाथि अमेरिकामा अन्तरक्रिया



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा लेखक मदनकृष्ण श्रेष्ठको आत्मकथा महको ममाथि अमेरिकामा अन्तरक्रिया गरिएको छ। मेरिल्यान्ड राज्यको जर्मन टाउन शहरमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मदनकृष्णसँग पत्रकार प्रेम बानियाँले महको म विषयमा अन्तरक्रिया गरेका थिए।

अन्तरक्रियाको आरम्भमा मदनकृष्णले अरबौं मान्छेमा तिमी एक मन मिल्ने मान्छे बोलको गीत गाएर सहभागीलाई मोहित तुल्याएका थिए। महको मबारेमा नेपालमा पनि धेरै ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको स्मरण गर्दै मदनकृष्णले दशौंपटक अमेरिका पुगेको बताए। मदनकृष्णले अन्तरक्रियामा आफ्नै मौलिक शैलीमा कुरा राख्दा दर्शक रमाएका थिए। मदनकृष्णले पुख्र्यौली घर जितपुर र बाल्यकाल बिताएको घरसम्बन्धी तयार गरिएको श्रब्यदृश्य प्रस्तुत गरिएको कार्यक्रममा पत्रकार बानियाँले बाबुले ५ पटक बिहे गरेको छोराले हेरेको, ७ कक्षा पढ्दासम्म ९ पटक विद्यालय फेरेको, कर्मचारी सञ्चय कोषबाट आफूभित्र निहित प्रतिभा शुरू भएकोलगायतका विषयमा सवाल गर्दा र मदनकृष्णले विभिन्न क्षणका स्मरण गर्दै सुनाउँदा दर्शक रमाएका थिए। कार्यक्रममा मदनकृष्णले आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठाने पनि ६ वर्ष लागेको बताए।

‘आत्मकथा लेख्न शुरू गरेको बेलामा पत्नीलाई क्यान्सर भएर उपचारतिर लाग्नुपरेकाले महको म लेखनमा ढिलाई भयो’ –मदनकृष्णलाई उद्धृत गर्दै वासिङटन डीसीबाट नेपाल समाचारपत्रका सहयोगी विजय थापाले जानकारी गराए। महको म लेख्दा पार्किन्सन्स रोगले गर्दा निकै कष्टप्रद भएको पनि उनले खुलाए। पुस्तकमा श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उकाली–ओराली, पत्नीले क्यान्सरसँग गरेको संघर्षलगायतका विषयमा उल्लेख गरेका छन्।

अन्तरक्रियाका क्रममा उनले आफ्नो अन्तरजातीय विवाहका बारेमा पनि चर्चा गरेका थिए। त्यसो नगरेको भए आफ्नो दायरा यति फराकिलो नहुने पनि उनले बताए। कार्यक्रममा मदनकृष्णले ५ गीत गाएका थिए भने पत्नी यशोदा सुवेदीको सम्झना गर्दै आफू अब हाँसेर जीवन बिताउने बताएका थिए। कार्यक्रम नेपा पास पुचः अमेरिकाय (एनपीपीए) ले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्