प्रसवपछि सेरेना कठिन मोडमा



लन्डन, (एजेन्सी)
सेरेना विलियम्स आमा बनेपछि भावनात्मक उतारचढावसँग जुझिरहेकी छन् । २३ पटककी ग्रान्डस्लाम विजेताले यसै साता हुने रोजर्स कपबाट नाम फिर्ता लिएकी छिन् । उनले व्यक्तिगत समस्या भनेर क्यानडामा हुने उक्त प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन् । ३६ वर्षीया अमेरिकी खेलाडीले सेप्टेम्बर २०१७ मा आमा बनेकी थिइन् । सेरेनाले गत साल डब्ल्यूटीएका सबै खेल गुमाएकी थिइन् ।

हाल पारिवारिक जीवन र टेनिसबीच समस्या बेहोरेकी सेरेनाले गत साता सम्पन्न सिलीकन भ्याली क्लासिकमा खराब हार समेत आत्मसात गरिन् । उनी ब्रिटेनकी जोहाना कोन्टासँग ६–१, ६–० ले हारेकी थिइन् । उनको पुरै करिअरमा एउटा खेलमा दुई गेम पनि जित्न नसकेको यो पहिलो अवसर समेत थियो ।

इन्स्टाग्राममा पोस्ट गरेअनुसार सेरेनाले प्रसवपछि संघर्ष गरिरहेकी उल्लेख गरेकी थिइन् । उनले प्रसवपछि तीन वर्षसम्म समस्या आइरहने केही लेखमा पढेको पनि बताएकी छिन् । उनले बताइन्—गत साता मेरो लागि सहज भएको थिएन । ममा केही व्यक्तिगत समस्या आइपरेको छ । तर म तनावमा थिएँ । प्रायजसो मैले महसुस गरेँ की म असल आमा बनेकी छैन । मैले मेरी छोरीको लागि पर्याप्त रुपमा केही गर्न सकिरहेको छैन ।

उनले थपिन्—यसबारे मैले मेरी आमा, मेरी दिदीहरु र मेरा साथीहरुसँग कुरा गरेँ वहाँहरुले यो सोच्नु स्वाभाविक रहेको भन्नुभएको छ । काम र परिवारबीच सन्तुलन बनाउन ज्यादै कठिन कार्य हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्