अपराधको पराकाष्ठा



अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको निकै निर्मम र क्रुर ढंगले हत्या गर्ने दुईजना अपहरणकारीलाई प्रहरीले इन्काउन्टरमा मारेको छ । अपहरणकारी मारिनुमा सबैले प्रहरीको तारिफ गरेका छन् भने बालक मारिएकोमा भने सबैको हृदय रोएको छ ।

किनकि बालक अपहरण गरेर ज्यान नै लिनु अपराधको पराकाष्ठा हो । अपहरणपछि बालकका आफन्तले प्रहरीलाई समयमा नै खबर गर्नु सकारात्कम पक्ष हो । बालक अपहरण परेलगत्तै प्रहरीले एक्सन लिएको पनि देखिन्छ । तर विडम्बना, प्रहरीले अपहरणमा परेका बालकको ज्यान भने बचाउन सकेन । बालक खड्काको हत्या गरेपछि मात्र फिरौती मागेको हो वा हत्या नगरीकनै फिरौती मागेको हो भन्ने विषय खोजीकै विषय बन्न पुगेको छ ।

बालकाको अपहरणमा संलग्न अजय तामाङ र गोपाल तामाङ पक्राउ गर्ने क्रममा प्रहरीको इन्काउन्टरमा मारिएका छन् । इन्काउन्टरमा मारिनुले अपहरणपछि हत्या गरिएका बालक खड्काको परिवारले राहतको महसुस गराएको छ । सामान्य चियापसल गरेर गुजारा चलाउँदै आएका परिवारलाई ४० लाख फिरौती माग्नु निकै ठूलो विषय हो । फोन कलका आधारमा प्रहरीले समयमै सतर्कता अपनाएको भए शायद निशानको जीवन बच्न सक्थ्यो कि ? यो झीनो आशा हुनु स्वाभाविक नै हो । जे होस् अपहरणकारी मारिनु पनि प्रहरीको सफलता नै मान्नुपर्छ ।

घटनापछि केही मानवअधिकारवादीहरुले अपहरणकारीको मानवअधिकारको विषय पनि उठाएका छन् । हो, हरेक नागरिकले निर्धक्क भएर हिँडडुल गर्न पाउनुपर्छ । तर अपहरण गरेर फिरौती माग्नुको साथै अपहरण गरेका बालकको हत्या गर्नु यो भन्दा ठूलो अपराध अरु हुन सक्दैन । मारिने व्यक्तिहरुको मानवअधिकारको प्रश्न उठ्दै गर्दा ११ वर्षीय अबोध बालक निशान खड्काको पनि बाँच्न पाउने मानवअधिकार थियो कि थिएन ? भन्ने प्रश्न पनि उठ्छ ।

प्रहरीको इन्काउन्टरमा अपहरणमा संलग्न अपराधीहरु मारिनुले समाजमा आपराधिक घटनाक्रम घट्ने आँकलन गर्न सकिन्छ । समाजमा हुने कुनै पनि आपराधिक क्रियाकलाप रोक्नु प्रहरीको कर्तव्य हो । समाजमा सबैले ढुक्क भएर हिँडडुल गर्न पाउनुपर्छ ।

अबोध बालकलाई अपहरण गरेर हत्या गर्ने व्यक्तिहरु इन्काउन्टरमा मारिनुले आगामी दिनमा अपराधजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरुले उन्मुक्ति पाउँदैनन् भन्ने पाठ सिकाएको छ । तर पनि यस्ता घटान फेरि नदोहोरिएलान् भन्न सकिँदैन । त्यसैले सबैजना सतर्क भने हुनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्