महिला हिंसाका घटना बग्रेल्ती, कडा सजाय चाहियो



महिला हिंसाका विभिन्न निक्रिष्ट घटनाहरु अहिले समाजमा बढिरहेका छन् । एकपछि अर्को गर्दै भिन्न–भिन्न प्रकृतिका घटनाहरुमा संलग्न महिलाहरु धेरै मात्रामा पीडित हुनुपरेको छ । परीक्षा दिन आएकी छात्राको योजनाबद्ध हत्या होस् वा महिलाको संवेदनशील अंगहरुमा गरिएका निक्रिष्ट प्रयासहरुले भिन्न–भिन्न रुप धारण गरेको पाइन्छ ।

१३ वर्षीया बालिका बलात्कार होस् या १४ वर्षीया बहिनी बलात्कार । काकाले गरेको बलात्कार होस् या आफ्नै बाबुले गरेको । निकै निन्दनीय महिला हिंसा र बलात्कारका घटना बाहिर आइरहेका छन् ।

आफ्नै श्रीमान्द्वारा अपहेलित मात्र हैनन्, समाज र समाजभित्र बसोबास गर्ने बौद्धिक व्यक्तिहरुबाट समेत महिलाहरु चेपुवामा पर्दै आएका छन् । यसका लागि सामाजिक मूल्य मान्यता र जनचेतनासँगै कानुनी उपचारलाई कडाइका साथ पालना गर्नुपर्ने देखिएको छ ।
आफूलाई पर्दा वा आफूले हिंसा गरिरहँदा सामान्य हुने र अरुले सामान्य घटना घटाउँदा वा हुँदा त्यसलाई असामान्य ठान्ने महिला वा पुरुषहरुका आचरणहरु पनि सुधार गर्नुपर्ने बेला आएको छ ।

कतिपय घटना योजनाबद्धरुपमा घटाइएका छन् । महिला हिंसाको अडानभित्र निर्दोष मानिसहरु फसाउनेसम्मका घटनाहरुसमेत पछिल्ला दिनहरुमा बढ्दै गएका छन् । गाउँ–गाउँमा निगरानी समूह, योजनाबद्ध निराकरणका लागि रणनीति र हरेक घटनाहरुको गहिराइसम्म पुगेर समाधानको खोजी गर्ने कार्यमा सम्बन्धित निकायहरुले लाग्नुपर्ने आजको आवश्यकता हो ।

प्रहरी प्रशासन र सामाजिकरुपमा यस्ता हिंसा गर्नेलाई नसिहत दिन जरुरी छ । कानुनीरुपमा पनि यस्ताले संरक्षण पाउनुहुँदैन । यो विषयमा सबै सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
– सविना केसी, घोराही दाङ ।

प्रतिक्रिया दिनुहोस्