प्रहरीले अपहरणकारीको इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा



पुष्कर बुढाथोकी, भक्तपुर
आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका स्थानीय र मारिएका दुई अपहरणकारीका घरबेटी श्याम लवट परिवार दबाबमा परेका छन् ।

यसपछि प्रहरी र सञ्चारकर्मीको लगातार फोन आउन थालेपछि उनीहरु दबाबमा परेका हुन्। घटनाको खुलासा किन गरेको भन्दै प्रहरीले दबाब दिन थालेपछि लवट परिवारले सोधपुछ गर्ने जो कोहीसँग पनि कुरा गर्न डराउन थालेको स्थानीयको भनाइ छ । नेपाल समाचारपत्रकर्मी लवटको घरमा पुग्दा उनका परिवारले घटनाका सम्बन्धमा खुलेर कुरा गर्न चाहेनन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अपरहणमा संग्लन भनिएका गोपाल तामाङ र अजय तामाङको सूर्यविनायकमा रहेको जंगलमा भनिएको इन्काउन्टर भनी गरेको प्रचार गलत भएको खुलासा भएपछि उनीहरु प्रहरीको दबाबमा परेका हुन् ।

घटनाको खुलासा गरेपछि स्थानीय र मारिएका अपहरणकारीका घरबेटी दबाबमा

इन्काउन्टरको नाममा प्रहरीद्वारा हत्या

घटनाबारे घरबेटी लवट परिवार खुलेर बोल्न चाहन्नन्

नेपाल समाचारपत्रकर्मी श्याम लवटको घरमा पुग्दा श्याम घरमा थिएनन् भने उनकी श्रीमती, सुबिना र साना दुई छोरा मात्र घरमा थिए । मोवाइलमा सम्पर्क गर्दा उनले काठमाडौंमा आफ्नो काममा ब्यस्त भएको बताए ।

महाशाखाको टोलीले बालक निशानको हत्यामा संग्लन भनिएका गोपाल र अजयको दोहोरो मुठभेडमा ज्यान गएको दाबी गरे पनि महाशाखाको प्रहरीले नगदेशस्थित कोठाबाट अजय र गोपाललाई गाडीमा हालेर जंगलतर्फ लगेको प्रत्यक्षदर्शी बताउँछन् ।

श्याम लवटको घरमा ६ महिना अघिदेखि बस्दै आएका गोपाल र अजयलाई सादा पोसाकमा आएको प्रहरीको टोलीले कोठाभित्रै कुटपिट गरेर आँखामा पट्टी बाँधेर लगेको त्यहाँ उपस्थित दर्जनौं बासिन्दाले प्रत्यक्ष देखेका थिए ।

अपहरणकारी डेरा बसेको घरसँगैको कोठामा बस्दै आएका सञ्चारकर्मीसमेत रहेका प्रसन्न रिमालले उनीहरु दुवैलाई सादा पोसाकमा आएका प्रहरीले बिहान कुटपिट गर्न थालेको आवाज सुनेको र पछि प्रहरीले अपहरणकारी भएको जानकारी दिएको बताउनुभयो । तर आफूहरुलाई आफ्नो कोठामा बस्न र बाहिर ननिस्कन प्रहरीले भनेको उहाँले बताउनुभयो ।

पछि हल्ला भएर सबैले थाहा पाएर चौकीमा लगेर जे गर्नुस् तर यहाँ होइन भनेपछि त्यहाँबाट उनीहरुलाई प्रहरीले लगिएको बुझिएको छ । त्यस क्रममा लवटको घर बाहिर सयौं स्थानीय जम्मा भइसकेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले लवटकै निर्माणाधीन घरको आडमा गाडिएको अवस्थामा शव फेला पारेको हो । शव पनि गोपाल र अजयले नै देखाएको हुन सक्ने स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार रातो गाडीसहित एउटा निलो रंगको गाडी र ३–४ ओटा मोटरसाइकलमा महाशाखाको टोली लवटको घरमा पुगेको थियो । स्थानीय भन्छन्– ‘प्रहरीले अजय र गोपाललाई बिहान अन्दाजी सवा दश बजेको समयमा लवटकै घरबाट लगेको हो । पछि इन्कान्टरमा मारिएको खबर आयो ।’

उनीहरु बस्ने कोठामा महाशाखाको टोलीले नै बन्द गरेको छ । त्यही घरमा बस्दै आएका डेरावालका अनुसार गोपाल र अजय आइतबार राति अलि ढिलो कोठामा पसेको घरबेटी सुबिना बताउँछिन् । घटनाक्रम हेर्दा अजय र गोपालले कोठामा आउनुअघि नै निशानको हत्या गरेको हुन सक्ने उनीहरुको आँकलन छ । सबैले देख्ने गरी घरबाट पक्राउ परेका गोपाल र अजयलाई कानुनी कारबाही गर्नुको साटो मुठभेड भनेर इन्काउन्टर गर्नुले प्रहरी नियतमा शंका भएको स्थानीयको भनाइ छ ।

इन्काउन्टरमा ज्यान गुमाएका गोपाल र अजयका परिवारले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनीहरुले छानविन नभएसम्म शब नबुझ्ने बताएका छन् । दुवैको शब महाराजगन्ज शिक्षण अस्पतालमा राखिएको छ ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउन्ड गोली र अपहरण पश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको भनिए पनि उनीहरुको साथमा त्यो नदेखिएको समेत स्थानीय बताउँछन् ।

तर अपराध महाशाखाले जारी गरेको विज्ञप्तिमा भने आश्रम जाने जंगलमा अपरिचित आपराधिक व्यक्तिहरुको समूहले हतियार निकाली प्रहरीमाथि नै गोली प्रहार गर्न लागेपछि बाध्य भएर गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ ।

अपहरणकारी मारिएपछि मारिएका बालक निशान खड्काका परिवारले क्षतिपूर्ति पाउने र घटनाको थप अनुसन्धानको बाटो बन्द भएको सरोकारवालको भनाइ छ । घटनको सबै अनुसन्धान अपराध महाशाखाले गरेको भन्दै भक्तपुर प्रहरीले भने घटनाको थप जानकारी दिन चाहेको छैन ।

प्रतिक्रिया दिनुहोस्