चोभारमा अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह



सुरेश तामाङ, काठमाडौं ।
उपत्यकाकै ठूलो सुख्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । काठमाडौको चोभारमा रहेको हिमाल सिमेन्ट उद्योगको जग्गामा सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको हो ।

सन् १९७४ मा जर्मन सरकारले बनाइदिएको हिमाल सिमेन्ट उद्योग सन् २००२ देखि बन्द भएपछि लथालिंग बन्यो । भग्नावशेष मात्रै बाँकी रहेको हिमाल सिमेन्टमा चलचित्रको छायाँङकन बाहेक केही प्रयोजनमा आएन । अहिले सरकारले उक्त क्षेत्रलाई उपयोगमा ल्याउनको लागि सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढाएको हो ।

उद्योग बन्द भएपछि लामो समयसम्म प्रयोग विहिन अबस्थामा रहेको २ सय भन्दा बढी रोपनी क्षेत्रफलमा फैलिएको जग्गालाई काठमाडौंमा मालसामान आयात निर्यातमा सहज पु¥याउने उद्देश्यले सुख्खा बन्दरगाह निर्माण गर्न सुरु गरिएको छ ।

भारतको कोलकत्ता,भिशाखापट्नाम पोर्टबाट र चाइनाको केरुङबाट काठमाडौंमा मालसामान सिधा आयात निर्यात गर्न चोभारमा सुख्खा बन्दरगाह बनाउन लागिएको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माण गर्न दुई निर्माण कम्पनी नियुक्त गरी सम्झौता समेत गरिसकेको छ ।

समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले सुख्खा बन्दरगाह १८ महिनाभित्र सम्पन्न गर्ने गरी चिनियाा कम्पनी शान्छी र नेपाली कम्पनी आशिषको ज्वाइन्ट भेन्चरसँग सम्झौता भएर काम अगाडि बढेको बताउनुभयो ।

विश्व बैंकले अर्थ मन्त्रालयसँग अहिले २२ लाख अमेरिकी डलर सहुलियत दरमा ऋण दिने सहमति गरिसकेको छ भने बैंककै सहयोगमा ग्लोबल टेन्डरमार्फत चिनियाँ र नेपाली कम्पनी नियुक्त गरेको हो । निर्माण कम्पनीले १ अर्ब ४४ करोडमा निर्माण सम्पन्न गर्ने छन् । सुख्खा बन्दरगाह ११ दशमलब ७७ हेक्टर अर्थात २ सय ३२ रोपनीमा बन्नेछ ।

हालसम्म पनि आयात निर्यातका लागि आवश्यक पर्ने पूर्वाधार काठमाडौँ नजिक नरहेकोले चोभारमा सुख्खा बन्दरगाह बनाउन लागिएको समितिका कार्यकारी निर्देशक बस्नेतले बताउनुभयो ।

काठमाडौँ भित्रिने र बाहिरिने मालवाहक साधनहरु(कन्टेनर गाडिहरु)बाट ढुवानी हुने कन्टेनरहरु राखिने र भन्सार सम्बन्धी कार्यहरु अब यस बन्दरगाहबाट गरिने भएको छ । काठमाडौँबाट निर्यात हुने सामाग्रीहरु राखी बाहिरिने गाडीहरु रहने स्थानको रुपमा विकसित गरी, अन्तराष्ट्रियस्तरको सुख्खा वन्दरगाह निर्माण गर्ने लक्ष्य समितिले राखेको छ ।

वाणिज्य व्यापारसँग सम्बन्धित पूर्वाधार सुख्खा वन्दरगाह, एकीकृत चेक पोष्ट आदिको निर्माण मार्फत निर्यातलाई बढी प्रतिस्पर्धी बनाउने साथै आयातित सामाग्रीको लागत कम गर्ने उद्देश्य यस बन्दरगाहबाट हुनेछ । यी सुख्खा बन्दरगाहले सिघ्र भन्सार छुटाउने, क्वारेन्टाइन जाँच तथा गोदाम आदिको सुविधाहरुको सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

‘नेपालमा अहिलेको व्यापारको आयातलाई हेर्ने हो भने काठमाडौंमा मात्रै ४० प्रतिशत खपत भएको देखियो,’ समितिका कार्यकारी निर्देशक बस्नेतले भन्नुभयो–‘यहि अबस्थामा यसरी ठूलो मात्रमा कारोबार हुने हो भने विरगञ्ज, विराटनगर र भैरहवामा रहेको बन्दरगाहमा देखिएको चाप गर्न गर्न सहज हुनेछ ।’

विरगञ्ज, विराटनगर र भैरहवा नाकाबाट सिधै चोभारको बन्दरगाहमा आउँदा लागत र समय पनि घट्ने भएकोले सरकारले यसलाई विशेष रुपले हेरिएको उहाँले बताउनुभयो । यहाँबाट पनि सिधै मालसामान कन्टेरमा निर्यात हुने भएकोले निर्यातमा पनि प्रतिस्पर्धि हुने र कच्चा पदार्थको लागत पनि घट्नमा यस बन्दरगाहले सहयोग गर्ने उहाँको दाबी छ ।

एकै पटकमा ६ सय कन्टेनर पार्किङ गर्न सक्ने क्षमता बोक्ने यस बन्दरगाह बिसं. २०३९ सम्म काठमाडौंको व्यापारको मात्रा धान्न सक्नेछ । त्यस्तै यहाँ २ सय ५० गाडि पार्किङ गर्न सक्ने घरेलु पार्किङको व्यवस्था गरिएको छ । भन्सार, चेकजाँच, क्वारेन्टाइन र सुरक्षा जाँच लगायतका धेरै सुविधा एकै ठाउँमा हुने भएपछि ग्राहकलाई पनि सजिलो हुनेछ ।

बन्दरगाहमा भूमिगत पानी भण्डारण, पम्प हाउस र अग्नि नियन्त्रक कक्ष, खानेपानी तथा ढल निकास, ढल प्रशोधन केन्द्र, सुरक्षा तथा उद्धार कक्ष, हरियाली तथा भू–दृश्य बन्नेछ ।

सवारी नापतौल र नियन्त्रण कक्ष, सामान लोड अनलोड, विद्युत सबस्टेशन बत्ती कक्ष, सर्मत सामाग्री कक्ष, रिच स्ट्याकर (लोड उचाल्ने) राख्ने कक्ष, गोदाम एक्जिम २ वटा बल्क र डोमेस्टीक ३ वटा बल्क १२ सय ९६ वर्गमिटरको रहने छ ।

२ सय रोपनी भित्र सुख्खा बन्दरगाह बनाएर बाँकी रहेको जग्गामा अन्तराष्ट्रिय प्रदर्शनीस्थल बन्ने समितिले बताएको छ । यसको सम्भाव्यता अध्ययन सम्पन्न भएर विस्तृत अध्ययन भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्