सुन फलाउँने गाउँः एउटै गाउँबाट डेढ करोडको काँक्रोको बीउ बिक्री



दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लाको फलेबास नगरपालिका वडा नं ११ मा पर्छ एउटा सानो गाउँ कर्नास , यहाँका एक सय घर धुरीले एक दशक भन्दा पहिले देखि गाउँमै ‘सुन’ फलाउँदै आएका छन ।
सुन्दा अचम्म लागेपनि पँहेलपुर पाकेका काक्रोबाट यहाँका कृषकले यस बर्ष मात्रै गाउँमा डेढ करोड रुपैया भित्र्रयाएका छन । भक्तपुर लोकल जातको काक्रोको बीउ बिक्रीबाट एउटा बस्तीमा बर्षमा डेढ करोड भित्र्याएपछि उनीहरुले पँहेलै पाक्ने काक्रोलाई ‘सुन’ जस्तै बहुमुल्य मान्न थालेका हुन ।
कर्नासमा रहेको नारायणस्थान बीउ उत्पादक सहकारी संस्थामा आबद्ध कृषकले ५ टन काक्रोको बीउ उत्पादन गरेको संस्थाका संस्थापक सदस्य बाबुराम भुसालले जानकारी दिए । ‘यस बर्ष सहकारीमा आबद्ध कृषकले ५ टन बीउ बिक्री गरेर डेढ करोड रुपैया गाउँमा भित्र्याउन सफल भएका छौ’ उनले भने ‘गाउँमा काक्राको बीउ बिक्रीबाट भित्रीने रकम सुन जस्तै बहुमुल्य छ’ कृषकले काठमाण्डौ कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन । एक किलो बीउको ३ हजार रुपैँयाका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन ।
काक्रोको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाब नभएको कषक भुसालको दाबी छ । नेपालमा ७ टन भक्तपुर लोकल जातको काक्रोको बीउको माग छ । मुलुकभरको माग मध्ये एउटै गाउँले ५ टन उत्पादन गर्छ । ‘नेपालभर माग हुने बीउँको दुई तिहाई भन्दा बढी हिस्सा एउटा गाउँले नै पुरा गर्दै आएका छौ’ कृषक भुसालले भने ।
कर्नासमा कृषकहरुले काक्रोको बीउ उत्पादनबाट घटीमा एक लाख देखि बढीमा ७ लाख ५० हजार रुपैया सम्म एउटा घरमा भित्रने गरेको छ । माघ महिनामा काक्रो रोपे देखि जेठमा बीउ निकाल्ने ५ महिनामा एउटै परिवारले ७ लाख सम्म भित्र्याउन सकेका छन । यस बर्ष कृषक टुकप्रसाद पौडेलले २ हजार ५ सय किलो काक्रोको बीउ बिक्री गरेर ७ लाख ५० हजार भित्र्याएका छन । कृषक बाबुराम भुसाल, ताराप्रसाद पौडेल, लगायतले २ हजार किलो काक्रोको बीउ बिक्री गरेर ६ लाख रुपैया कमाई गरेका छन । बाबुराम भुसाल र ताराप्रसाद पौडेल स्थानिय प्राथमिक तहका शिक्षक पनि हुन । ‘फुर्सद र बिहान बेलुकाको समय सदुपयोग गर्दा पनि ६ लाख कमाई हुन्छ’ कृषक भुसालले भने ‘सबै लागत कटाउँदा पनि ५ लाख ५० हजार रुपैया नाफा नै हुन्छ’

फलेबास नगरपालिका वडा नं ११ की वडा सदस्य समेत रहेकी माया पाठकले पनि यस बर्ष १ हजार ५ सय किलो बीउ बिक्री गरेर ४ लाख ५० हजार आम्दानी गरेको बताईन । यहाँ बीउ उत्पादनका लागि प्रशस्त संभावना भएकाले कृषकलाई सिंचाई, बीउको ब्यबस्था गर्न सके बर्षेनी लाखौ रुपैया भित्र्याउन सकिने पाठक बताउँछिन । ‘कालीगण्डकी तटमा रहेका बाच्छा, पाङ्गराङ्ग र कुर्घा तथा बर्राचौरका फाँटमा पनि खेती बिस्तार गर्न सकिन्छ’ उनले भनिन‘ खेती बिस्तार गर्ने हो भने बिदेशमा पनि बिक्री गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्