विधेयकमा जानाजान विपद्को घटना गराउनेलाई पाँच लाख सम्मको जरिवाना



सरोज यादव, विराटनगर ।
प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद् न्युनिकरण तथा उद्धार र राहतका लागि विपद् व्यवस्थापन सम्बन्धी विधेयक प्रदेश सभामा पेस गरेको छ । प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विपद् व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन । विधेयक पेस गर्दे मन्त्री कार्कीले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न र विपद्बाट उत्पन्न हुने जोखिम न्यूनिकरण गर्न विधेयक ल्याएको जानकारी दिए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदहरुले विपद् व्यवस्थापनका लागि छुट्टै मन्त्रालय गठन गर्नुपर्ने तथा जोखिम न्यूनिकरणका लागि तालिमप्राप्त जनशक्तिको व्यवस्थापन गर्नपर्ने सुझाव दिएका छन् । विधेयकमा विपद् व्यवस्थापन गर्न मुख्यमन्त्रीको नेतृत्वमा विपद व्यवस्थापन समिति र प्रदेश सरकारको विपद् सम्बन्धी विषय हेर्ने मन्त्रीको नेतृत्वमा कार्यकारी समिति बनाउने उल्लेख छ ।

यस्तै ठूला विपद् आईपरेमा सो क्षेत्रलाई प्रदेश सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्ने सम्मको प्रावधान राखिएको मन्त्री कार्कीले जानकारी दिए । विपद् पछि उद्धार र राहत भन्दापनि विपद् जोखिम न्यूनिकरणलाई जोड दिएर काम गर्नेगरी विधेयक ल्याएको उनको दाबी छ । विधेयकमा जानाजान विपद्को घटना गराउनेलाई पाँच लाख सम्मको जरिवाना वा दुइ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी अनुमति नलिइ विपदका नाममा चन्दा वा राहत संकलन गरेर आफु खुसि वितरण गरेमा एक लाख रुपैयाँ सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्