नियम विपरित सञ्चालन गरिदैं औषधी पसल



नेपाल समाचारपत्र, काठमाडौं
ललितपुरका पाँच औषधी पसल आधारभुत मापदण्ड तथा नियम विपरीत सञ्चालनमा भईरहेको पाईएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनका क्रममा जावलाखेलमा रहेका विद्या अल्का फार्मेसी र अल्का फार्मेसी जावलाखेल तथा पुल्चोकमा सञ्चालित आराध्या फार्मेसी, गौतम फार्मेसी पुल्चोक, र एड लाइफ रहेका छन ।

दैनीक बजार अनुगमनका क्रममा ती औषधी पसलबाट कम्प्यँटर विल जारी गर्ने स्विकृती नभएको, एक्सपायर जोन नराखेको, औषधि व्यवस्था विभागको दर्तामा व्यवसायीको नाम नै नरहेको, व्यवस्था विभागको ढाँचा अनुसारको बिल नभएको, एप्रोन प्रयोग नगरी विरामी जाँच गर्ने गरेको, नार्कोटीक औषधिको रेकर्ड दुरुस्त नभएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कुनैपनि कागजात नभेटिएको विभागले जनाएको छ ।

बजार अनुगमन पछि विभागले ती औषधि पसलहरुलाई औषधि व्यवस्था विभागको फर्म्याट अनुसारको विल बनाइ प्रयोग गर्न, नार्कोटीक औषधिहरुको रेकर्ड दुरुस्त बनाइ २४ घण्टा भित्र औषधि व्यवस्था विभागमा पेशगर्न, फर्मासिस्टलाई अनिवार्य एप्रोन प्रयोग गर्न लगाउन, कार्यरत कर्मचारीहरुलाई करारमा नियँक्ति गरेर मात्र काममा लगाउन तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु ७ दिन भित्र विभागमा पेश गर्न निर्देशन दिइको छ । सोमबार नै विभागको टोलीले ५ वटा मासु पसलमा पनि अनुगमन गरेको छ ।

आईतबारको अनुगमनका क्रममा विभागले नियम विपरीत सञ्चालनमा रहेका उपत्यकाका चार वटा औषधी पसल र मासु पसललाई सिलबन्दी गरेको थियो । यसअघि दिएको निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एनएण्डएस औषधि पसल सिलबन्दी गरिएको हो । चिरीशा फार्मेसी नरेफाँटमा सम्बन्धित व्यवसायीको अनुपस्थिति रहेको, औषधि व्यवस्था विभागको ढाँचानुसारको बिल नभएको तथा म्याद नाघेको औषधि बिक्रीस्थलमा राखेकाले तत्काल बन्द गरी २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

मनकामना मार्केटिङ स्टोर र केसी चिकेन स्टोर गँगबुमा पनि कुखुरा राख्ने स्थान र वधस्थल अत्यधिक फोहोर भएको, छानाबाट पानी चुहिएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात व्यवसायस्थलमा नभएकाले हाल दुवै पसलका सामान सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो । केसी चिकेन स्टोरबाट म्याद नाघेका दुई हजार ८ सय रुपियाँबराबरको सामान नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्