जुडोबाट एसियनमा पदक ल्याउने लक्ष्य



फिरोज राजोपाध्याय, काठमाडौं
थाइल्यान्डको राजधानी बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपमा सहभागि भएर जुडो खेलाडी सोमबार नेपाल फर्केका छन् ।

थाइल्यान्डमा भएको उक्त प्रतियोििगतामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक प्राप्त गरेको थियो । यही साउन १९ र २० गते भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट इन्द्रबहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक जितेका हुन् । एक रजत पदक पुनम श्रेष्ठले जितिन भने देविका खड्काले कांस्य पदक हासिल गरेकी थिइन् ।

नेपाली जुडो खेलाडीलाई इन्डोनेसियाको जाकार्तामा हुने एसियाली खेलकुदमा राम्रो प्रदर्शन गराउनका लागि बैंककमा प्रशिक्षण सरह प्रतियोगितामा सहभागिता गराएको नेपाल जुडो संघले जनायो । संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट भएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

वज्राचार्यले एसियाली खेलकुदमा पदक ल्याउने लक्ष्य लिएको भन्दै बताउनुभयो—यस पटक हामी जुडोबाट नेपाललाई एसियाली खेलकुदमा पदक दिलाउने लक्ष्य लिएका छौ । चार वर्षअगाडि भन्दा पनि अहिले जुडो खेलाडीको प्रदर्शन निकै राम्रो भएको महसुस गरेका छौ । उनीहरुले थाइल्यान्डमा सावित पनि गरेका छन् ।

अहिलेसम्म एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, बक्सिङ र करातेबाट पदक जितेको छ । जुडो खेललाई पनि पदक जितेको खेलको सूचीमा सुचित गर्न चाहना छ जुडो संघको । अहिलेसम्म नेपालको लागि सबैभन्दा ठूलो उपलब्धि भनेको तेक्वान्दो खेलाडी सबिता राजभण्डारीले बैंककमा भएको एसियाली खेलकुद १९९८ मा रजत पदक जित्नु हो । अरु सबै कांस्य पदक हुन् ।

यस पटक नेपालको तर्फबाट जुडोमा सहभागि हुनेमा चार पुरुष र चार महिला खेलाडी रहेका छन् । जसमा पुरुषतर्फ १ सय केजी तौलमुनि रविन श्रेष्ठ र श्रीराम माकजु, ७३ केजी तौलमुनि सन्जीव डंगोल र ६६ केजी तौलमुनि इन्द्रबहादुर श्रेष्ेठ रहेका छन् । त्यस्तै महिलातर्फ ७८ केजी मुनि पुनम श्रेष्ठ, ६३ केजी मुनि फुपु ल्हामु खत्री, ५७ केजी मुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजी मुनि देविका खड्काले इन्डोनेसियामा प्रतिस्पर्धा गर्नेछन् ।

यसमध्ये एसियाली खेलकुदमा पदकको संभावना भएका खेलाडीमा इन्द्रबहादुर, फुपु ल्हामु र मनिता श्रेष्ठ रहेका छन् । अध्यक्ष वज्राचार्यले बताउनुभयो—यी तीन खेलाडीप्रति हाम्रो धेरै आशा टिकेको छ । हामीले हौसला पनि बढाएका छौ । नेपाल सरकारले पनि पुरस्कार रकमको घोषणा गरिसकेको छ ।

स्वर्ण जित्ने आशा छ कि भन्दा वज्राचार्यले बताउनुहुन्छ—स्वर्ण र रजत त अहिले आशा नगरौं। धेरै पनि ठूलो आस गर्नुहुन्न । हामीले जित्ने भनेको कांस्य पदक हो । स्वर्ण र रजत जितेमा त्यो भन्दा खुशी अरु के होला ?

भीसा मिलेमा एसियाडमा भाग लिने फुपुबाहेक सात खेलाडी हंगेरीको राजधानी बुडापेस्टमा प्रशिक्षणको लागि जानेछन् । फुपु जापानमै प्रशिक्षण लिइरहेकी छिन् । उताबाट फुपुलाई राम्रै प्रशिक्षण दिएर सीधै एसियाली खेलकुदमा पठाउनेछ । अध्यक्ष वज्रचार्यले भीसा आएमा मंगलबार नै त्यतातिर प्रस्थान गर्ने बताउनुभयो । वहाँले भन्नुभयो—भीसा नमिलेर अलि अलमल भइरहेको छ । यदि भीसा मिलेमा भोलि नै बुडापेस्टमा जान पाउनेछन् । उनीहरुले त्यहाँ राम्रो प्रशिक्षण लिन सकिन्छ । त्यहाँ विश्वका वरियता प्राप्त खेलाडी हुने हुँदा हाम्रा खेलाडीका लागि यो भन्दा राम्रो प्रशिक्षण अरु हुन सकिँदैन ।

जुडोका लागि रोमानियाबाट आएको प्रशिक्षक डान प्लेर्काले प्रशिक्षण गरिरहेका छन् । स्वदेसका सहायक प्रशिक्षकमा चन्द्र डंगोल र देबु थापा रहेका छन् । विदेशी कोच, विदेशमा प्रशिक्षण र प्रतियोगितामा सहभागिताले नेपाली जुडोले एसियाली खेलकुदमा पदक ल्याउने आसा पनि गर्न सकिन्छ । तर प्रतियोगितामा कस्तो हुन्छ त्यो प्रतियोगितासम्म कुर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्