अन्तिम खेलमा यूनाइटेड पराजित



लन्डन, (एजेन्सी)
प्रि–सिजनको अन्तिम खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
प्रि–सिजनका लागि अमेरिका लगायतका देशहरुको भ्रमणका निस्किएको यूनाइटेड आफ्नो अन्तिम खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग १–० ले पराजित भएको हो । उक्त हारपछि प्रि–सिजनको ६ खेलमध्ये युनाइटेडले दुई खेलमा मात्र जित हात पार्न सफल भयो ।

म्युनिखको घरेलु मैदान एलिनाज एरिनामा आइतबार बिहान भएको खेलमा जेभियर मार्टिनेजको एक मात्र गोल नै युनाइटेडको हारमा पर्याप्त बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ५९ औं मिनेटमा मार्टिनेजले थियागो आलाकान्तराको कर्नरमा गोल गर्न सफल भएका थिए । उक्त खेलमा यूनाइटेडका पाउल पोग्वा, रोमेलु लुकाकु, जेसे लिन्गार्ड, एस्ले योङ र मराउने फेलायनी जस्ता चर्चित खेलाडीलाई विश्राम दिईएको थियो ।

यसअघि युनाइटेडले एसी मिलान र रियल मेड्रिडलाई पराजित गरेको थियो । यस्तै क्लब अमेरिका र सान जोसे अर्थक्वेकसँग बराबरी खेलेको युनाइटेडलाई अर्को इंग्लिस क्लब लिभरपुलले ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्