नेपाली क्रिकेट टोली फर्कियो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेस फर्केको छ । नेपालले नेदरल्यान्डस्मा दुई एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय खेलको सिरिज, मेरिलबोन क्रिकेट क्लब र नेदरल्यान्डस्सँगैको ६÷६ ओभरको त्रिकोणीय सिरिज तथा चार अभ्यास खेलेको थियो ।
नेपालको सो युरो यात्रा सफल भएको थियो । कप्तान पारस खड्काले युरोप भ्रमण सफल भएको बताएका छन् । त्यस्तै प्रशिक्षक जगत टमाटाले पनि युरोप भ्रमण सफल भएको र आगामी दिनमा अझ राम्रो गर्न सक्ने विश्वास लिएका छन् ।

नेपालले वानडे अन्तर्राष्ट्रियमा पहिलो पटक खेलेर इतिहास रचेको छ । नेपालले २२ वर्षको क्रिकेट करिअरमा पहिलो पटक वानडे खेल्न पाएको हो । नेपालले सो ऐतिहासिक वानडेलाई ऐतिहासिक नै बनाएर फर्केको छ । त्यसो त डेब्यु गरेको पहिलो वानडे खेलमा भने नेपाल ५५ रनले हारेको थियो । लक्ष्य त्यति ठूलो पनि थिएन । मात्र १ सय ९० रनको लक्ष्य थियो तर नेपाली टोली १ सय ३४ रनमै अलआउट भएको थियो ।

दोस्रो वानडेमा भने नेपालले नेदरल्यान्डस्लाई उसकै भुमिमा हराएर वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हासिल ग¥यो । यो स्मरणीय खेल बनेको छ । पहिलो ब्याटिङमा नेपालले २ सय १६ रन बनाएको थियो । चुनौती पूर्ण लक्ष्य भएपनि डच टोलीले संघर्ष गरी ९ विकेट गुमेको अवस्थामा पनि २ सय १५ रनमा सम्म आइपुगेको थियो ।

अन्तिम जोडीले झण्डै नेपालको खुशीयालीलाई तहसनहस गर्न खोजेका थिए । तर अन्तिम बलमा दुई रन आवश्यक भएको स्थितिमा पारस खड्काले डट बल फयाँके । जसमा रन लिन विपक्षी खेलाडीलाई कुनै मौका नै थिएन । तापनि उनीहरु एक रन लिएर स्कोर बराबरी गर्न खोज्दा पारसले क्लासनलाई रनआउट गरेका थिए । उनी रनआउट भएपछि नेपालले ऐतिहासिक जित हात पारेको थियो ।

नेपालको युरो यात्रा समाप्त भएको छ र अबको यात्रा एसिया कप हुनेछ । यानि कि नेपाली क्रिकेट टोली फेरि अर्को उपलब्धितिर अग्रसर भएको छ । आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एसीसी एसिया कप छनोटमा नेपालले सहभागिता जनाउनेछ । नेपालले युएई, मलेसिया, सिंगापुर, ओमान र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । ६ टोली सहभागिता भएको प्रतिस्पर्धाबाट विजेता टोली छनोट हुनेछ । एसिया कप भदौ ३० गतेदेखि युएईमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्