जहाज खरिदमा पारदर्शिता होस्



तीव्र गतिमा जहाज किन्ने काम भइरहेको छ । नेपाल वायुसेवा निगमले छोटो समयमा हवाई जहाज खरिद प्रक्रियालाई तीव्रता दिएको छ । हवाई जहाजको संख्या वृद्धि हुनु सकारात्मक हो । तर, निगमका विरुद्ध उठेका आवाजहरुलाई निगमले स्पष्टीकरण दिन नसक्नुले आशंका बढाएको छ । निगममा देखिएको आन्तरिक विवाद र अनियमितताले पनि निगमको कार्यशैलीप्रति प्रश्न उठाएको छ ।

देशको प्रतिष्ठित संस्थाको कार्य सार्वजनिक चासोको विषय हो । राष्ट्रिय ध्वजावाहक विमानको वृद्धि देशको प्रतिष्ठामा जोडिने विषय हो । ९६ प्रतिशत अन्तर्राष्ट्रिय जवाई जहाजले ओगटेको देशमा जवाई जहाजको संख्या बढ्नु निश्चय पनि स्वागतयोग्य हो । तर, विमान खरिदमा हुने चलखेल र अनियमितताले निगमप्रति थुप्रै आशंका बढाएको छ । निगमले केहि महिनाअघि ६० वर्षपछि वाइड बडी जहाज नेपाल भित्र्याएर तारिफ मात्र कमाएन, विवादको सामना पनि गर्नुपरेको छ । तसर्थ, निगमले जहाज खरिदमा पारदर्शिता देखाउन आवश्यक छ । यो विषयमा ध्यान जानु जरुरी छ ।

नेपाल एयरलाइन्सले विमान थप्न सरकारसँग सहयोग मागेसँगै फेरि जहाजको खरिदमा विवाद हुन थालेको छ । भएका जहाजको सदुपयोग नगर्ने तर विमान थपिरहन देखिएको सक्रियताले आशंका उब्जाएको छ । राष्ट्रिय ध्वजावाहक जहाजको गन्तव्य बढाउन पनि निगम गम्भीर बन्नुपर्छ । त्यसै गरी, नेपाल वायुसेवा निगममा देखिएको अनियमितताको छानबिनमा सम्बन्धित निकायले चासो देखाउनुपर्छ । हिसाबकिताब पारदर्शी हुनु जरुरी छ ।
– प्रविन ओझा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्