फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो



ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ ।

कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बताउँदै त्यसका लागि कामपाले जनचेतनाका कार्यक्रम अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘फोहोरको समस्याले बिकराल रुप लिन थालेपछि महानगरवासीलाई जनचेतनासम्बन्धी कार्यक्रम अघि बढाएका हौं ।’

पछिल्लो एक महिना यता सिसडोल ल्यान्डफिल साइट भरिएर फोहोरको पहिरो जाने खतरा बढेपछि उपत्यकालगायत छिमेकका २२ स्थानीय निकायको फोहोर व्यवस्थापनमा समस्या बढेको छ । समस्या समाधान गर्ने विषयमा सरकारले समेत चासो दिन छाडेपछि महामारी बढ्ने खतरा बढेको हो ।

–एक दशकसम्ममा पनि बनेन पूर्वाधार
–सिसडोलमा पहिरोको खतरा
–उपाय सुल्झाउन समिति गठन

पछिल्लो समयमा राजधानीलगायतका स्थानको फोहोर सडक गल्लीमा थुप्रिएको छ । समस्याले बिकराल रुप लिँदै गएपछि उपत्यका लगायतका २२ स्थानीय निकायको बैठकले कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
ल्यान्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन समिति गठन गरेको हो । समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।

समितिलाई फोहोर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिस गर्ने जिम्मा दिइएको छ । समितिले ल्यान्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्ने र वर्षौंसम्म निर्माण हुन नसकेको बञ्चरेडाँडाको पूर्वाधार निर्माणका विषयमा सुझाव दिनेछ ।

समितिका संयोजक मरहठ्ठाले समितिले १५ दिनभित्र प्रतिवेदन तयार गर्ने जानकारी दिनुभयो । जताततै फोहोर भए कामपालाई मात्रै दोष दिने परम्परालाई अन्त्य गर्न सामूहिक लगानीलगायतका विषयमा छलफल गरी प्रतिवेदन बुझाउन समिति गठन गरिएको उहाँको भनाइ थियो ।

उहाँले समितिले वैकल्पिक ल्यान्डफिल साइटको व्यवस्थापन गर्ने विषयमा गहन छलफल गर्ने जानकारी गराउँदै समितिको बैठकले फोहोर व्यवस्थापन गर्ने विषयमा सम्पूर्ण अध्ययन गर्ने बताउनुभयो ।

‘अबको ६ महिनापछि सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न मिल्दैन । त्यसको विकल्पमा फोहोर व्यवस्थापन गर्ने स्थानको खोजी समेत समितिले गर्नेछ’ –उहाँले भन्नुभयो ।

विश्व वातावरण दिवसको अवसरमा २०६२ साल जेठ २२ गते अर्थात् सन् २००५ जुन ५ तारिखका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोटको तत्कालीन ककनी गाउँ विकास समिति (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो । त्यस क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटको क्षमता ३ वर्षको हुने अनुमान गरिएको थियो ।

तत्कालीन अवस्थामा काठमाडौं महानगर र तत्कालीन ललितपुर उपमहानगरबाट दैनिक ३ सय ७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । यो परिणामलाई आँकलन गरेर ३ वर्षको क्षमता भनिएको थियो तर क्रमशः फोहोरको मात्रा बढ्दै गयो । हाल दैनिक करिब ८ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ ।

३ बर्षको अवधिमा दीर्घकालीन ल्यान्डफिल साइट बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन शुरुआत गर्ने लक्ष्य थियो । तर लक्षित समयको एक दशक बितिसक्दा बञ्चरेडाँडाको पूर्वाधार बन्न सकेको छैन ।

पूर्वाधार बन्न नसक्दा अहिले सबै निकायको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । सिसडोलको अवस्था हेर्दा जुनसुकै बेला फोहोरको पहिरो जाने सम्भावना बढेर गएको छ । स्थानीय श्रीराम ढुंगानाले तत्काल वैकल्पिक साइट नखोजे फोहोर व्यवस्थापन गर्न समस्या पर्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– ‘फोहोरको कारण महामारी फैलने खतरा बढेको छ । कामपाले फोहोर व्यवस्थापन होइन थुपारेर राखेको छ ।’ कामपाका सहसचिव मरठ्ठाले यही अवस्थामा वैकल्पिक स्थानको खोजी नगरे २२ वटै स्थानीय निकायको फोहोर व्यवस्थापन गर्न गम्भीर समस्या देखिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्