‘इन्काउन्टर’मा २ अपहरणकारी मारिए



अपहरित बालक निशान खड्काको हत्या

पुष्कर बुढाथोकी, भक्तपुर । आईतबार साँझ काठमाडौंबाट अपहरणमा परेका ११ बर्षिय बालक निशान खड्काको हत्या गर्ने दुई हत्याराको प्रहरी मुठभेडमा मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिकाको नगदेशस्थित एक निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव गाडिएको अवस्थामा सोमबार मध्यान्ह प्रहरीले शव फेला पारेको थियो ।

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेको बालक खड्काको परिवारले जनाएको छ । सिन्धुपाल्चोक ज्यामिरे स्थायी घर भएका बालक खड्का हाईलेन स्कुल काँडाघारीमा कक्षा ६ मा अध्ययनरत रहेका थिए । अपहरणकारीको खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीसँग भिडन्त हुँदा २ जना अपहरणकारी समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीसँगको भिडन्तमा भक्तपुरकै सुर्यबिनायक मन्दिरमाथि रहेको जङ्गलमा सोमबार दिउँसो अपहरणकारीसँग भिडन्त भएको थियो । अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि उनीहरुले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महागरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरण पश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । भिडन्तमा मारिनेमा नुवाकोट सामरीका अजय तामाङ्ग र सिन्धुपाल्चोक कार्यथलीका गोपाल तामाङ्ग रहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिका–३२ काँडाघारी टाउँन प्लानिङ्गबाट अपहरण गरि बालक खड्कालाई भक्तपुरको मध्यपुर थिमिमा पु¥याइएको थियो ।

बालक अपहरण गरि हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसंगको भिडन्तमा मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक धिरज प्रताप सिंहले जानकारी दिनुभयो । महाशाखाबाट प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसंगको दोहोरो भिडन्तमा अपहरणकारी मारिएका हुन् ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभई हाल टाउँन प्लानिङ्गमा बालकको आमा चमेली खड्काले संचालन गरेको खाजा पसलबाट अपहरणमा परेका खड्काको अपहरणकारीले हत्या गरि गाडेको अबस्थामा प्रहरीले शव फेला पारेको थियो । अपहरणकारीले बालकको मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाधेको अबस्थामा शव भेटिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाए लगत्तै महाशाखाका पाँचवटा टोली सूर्यविनायक जंगल लगायतका क्षेत्रमा केन्द्रीत भएर खोजी कार्य गरेको थियो ।

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाईलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसंग जम्का भेट भएपछि भिडन्त भएको दावी प्रहरीले गरेको छ ।

एसएसपी सिंहले भन्नुभयो–“सूर्यविनायक जंगलमा अपहरणकारीसंग जम्का भेट भएपछि पक्राऊ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर ग¥यो, प्रहरीसंगको मुठभेडमा दुबै अपहरणकारी मारिए ।

चमेलीले संचालन गरेको पसलमा आईरहने तामाङ्गले आईतबार पसलमा आएर बालकसंग केहीबेर खेलेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ । साँझ बालकलाई घुम्न जाने बाहनामा फकाएर लगेको देखिन्छ एसएसपी सिहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बालक अपहरण भएको जानकारी पाए लगत्तै काडाँघारी प्रहरी प्रभागका प्रहरी टोली, महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी तथा अपराध महाशाखाका करिब १५० जनाको प्रहरी टोली राती नै परिचालन भएर अपहरणकारीको खोजी गरेको थियो ।

अपहरणकारी धुन्चेपाखा, नगदेश क्षेत्रमा रहेको जानकारी पाएपछि प्रहरी त्यसक्षेत्र परिचालन भएको थियो । प्रहरीले बालकको हत्या गरि गाडेको अबस्थामा शव फेला पारेपछि फरार अपहरणकारीको खोजी गर्नेक्रममा सूर्यविनायक जंगलमा लुकेको सुराकी पाए लगत्तै प्रहरी टोली त्यसतर्फ गएको थियो । मृतक बाबु गणेश खड्का केही वर्षदेखि मलेसियामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्