विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला



जापान ।
जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् ।
टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग ९युद्धमा प्रयोग गरिने धारिला हतियार०, आठ थान हाते बम र ३०२ थान गोली भेटिएको उक्त महानगरका अधिकारी मासाकी फुजिसावाले बताउनुभयो ।

“विद्यालय परिसरमा हतियार फेला परेको खबरले शुरुमा हामी आश्चर्यमा प¥यौँ,” उहाँले थप्नुभयो ।
“सबै हतियार खिया लागेको अवस्थामा फेला परेपछि तिनीहरू लामो समय पहिले अर्थात् दोस्रो विश्वयुद्धको समय जमिनमुनि गाडिएको विश्वासमा सम्बन्धित अधिकारीलाई अनुसन्धानका लागि जिम्मा लगाएका छौँ,” फुजिसावाले एएफपीसँगको कुराकानीमा बताउनुभयो । भेटिएका कुनैपनि हतियार प्रयोगमा आउनसक्ने अवस्थामा नरहेकासमेत उहाँको भनाइ थियो ।

हतियार जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि सन् १९४५ मा जमिनमुनि गाडिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले हतियार विज्ञहरूलाई उद्धृत गरी जनाएका छन् ।
जापानले हतियार त्यागेर शान्तिको यात्रा शुरु गरेको ७० बर्षपछि पनि कतिपय स्थानहरूमा हतियारका अवशेषहरू पाइने गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्