शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा



बेलायत ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसुम नवाजको स्वास्थ्यमा सामान्य सुधार आएको उहाँका छोरा हुसेन नवाजले सोमबार बताउनुभएको छ ।
लण्डनको हार्ली स्ट्रिट क्लिनिकमा क्यान्सरको उपचार गराइराख्नुभएकी कुलसुम अहिले होसमा आउनुभए पनि उहाँलाई अझै भेन्टिलेटरमा राखिएको छ । छोरा हुसेनलाई उद्धृत गर्दै पाकिस्तानी टेलिभिजन सामाले भनेको छ, आमाको स्वास्थ्यमा सामान्य सुधार आएको छ । अहिले उहाँ इशाराले आफ्ना समस्यालाई बताउनसक्न थाल्नुभएको छ । तर उहाँलाई लगाइएको भेन्टिलेटर भने हटाइएको छैन ।
हुसेनका अनुसार एक महिनासम्म कोमामा राखेर उपचार भएपछि गत जुलाई १३ देखि आमाले आँखा खोल्नुभएको छ । हुसेनले पाकिस्तानी जनतालाई आमाको नाम सम्झेर प्रार्थना गरिदिन अनुरोध गर्नुभएको थियो ।
कुलसुमको उपचारका लागि पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफ र छोरीसमेत लण्डनमा रहँदै आउनुभएकोमा एभेनफिल्ड भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहरिएपछि उहाँहरू तोकिएको सजायको व्यतित गर्न केही दिन पहिले पाकिस्तान आउनुभएको थियो ।
पाकिस्तानी विशेष अदालतले गता जुलाई ६ मा शरीफ र मार्याम दुवैलाई भ्रष्टाचार मुद्दामा जेल सजाय तथा जरिवानाको फैसला सुनाएको थियो । जस अनुसार पूर्व प्रधानमन्त्री शरीफले १० बर्ष जेल र ८० लाख पोण्डस्टर्लिङ जरिवाना तथा मार्यामले ८ बर्ष जेल र २० लाख पोण्डस्टर्लिङ जरिवाना तिर्नुपर्नेछ ।
उहाँहरू दुवैजना गत जुलाई १३ मा पाकिस्तानी शहर लाहोरमा आइपुगेपछि पक्राउ पर्नुभएको थियो । अहिले उहाँहरूलाई रावलपिण्डीस्थित अडियाला जेलमा राखिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्