प्रदेशको दोश्रो र जिल्लाको पहिलो बालमैत्री वडा घोषणा



मोतीराम तिमल्सिना, काभ्रे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताको खुशीका लागि जनप्रतिनिधिहरुले आफ्नो भन्दा जनताकै सुख दुखमा रमाउन सक्नु पर्ने बताएका छन् ।
प्रदेश नम्वर ३ को दोश्रो पनौती नगरपालिकाको वडा नम्वर १२ लाई बालमैत्री वडा घोषणा गर्दै मन्त्री पण्डितले सकारात्मक सोच लिएर अगाडी बढ्दा मुलुक र मुलुकका जनताको हित हुने बताए । ‘मुलुक गरिव छ तर शिक्षित मुलुक भन्दा नेपालका बालबालिकाहरु खुशी छन’–मन्त्री पण्डितले भने–‘बेलायत भन्दा नेपालमा बालबालिकाहरु खुशी छन् ।’ विकसित मुलुकहरुले बालबालिकाहरुलाई प्रेम, खुशी र सजाउने गरेको बताउँदै मन्त्री पण्डितले बालबालिकाहरु खुशी हुँदा मात्रै भविश्य राम्रो हुने प्रष्ट पारे । ‘असल बाटो देखाउने, शिक्षित बनाउने र संस्कार राम्रो सिकाउन सक्दा मात्रै मुलुकले खोजेको असल नागरिकहरु उत्पादन हुन सक्छन्’–मन्त्री पण्डितले भने–‘बालबालिकाहरुलाई सत्मार्गमा हिडाएर मुलुकको सम्वृद्धका लागि तयार गरिनु पर्छ ।’

त्यहि प्रसंगमा मन्त्री पण्डितले प्रकृतिले दिएको उपहारलाई समेत हामिले विगारेको बताए । समाजको एकता कायम राख्दै मुलुकको एकता र विकासमा सकारात्मक सोचको विकास गराउनु जनप्रतिधिको दायित्व भएको मन्त्री पण्डितले बताए । जनप्रतिनिधिहरुले जनताको समेत शिर ठाडो पार्ने गरी काम गर्न निर्देशन दिर्दै मन्त्री पण्डितले दिक्षित मुलुकका रुपमा चिनाउन सबै पक्ष सक्रिय हुनु पर्ने बताए । पनौती नगरपालिका वडा नम्वर १२ साविक भुमेडाँडा गाउँ विकास समितिले बालमैत्री वडाका लागि ३९ वटा सूचक पार गरेको छ । १ हजार ३ सय ७५ बालबालिका रहेको उक्त वडामा ९ सय ३५ घर धुरी रहेका छन् भने ४ हजार ७ सय ७ जनसंख्या रहेको छ ।
कार्यक्रममा सांसद बसुन्धरा हुमागाई, संविधान सभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समित प्रमुख उद्धव केसी, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, उपप्रमुखहरु रेखा सापकोटा दाहाल, गिता बञ्जारा, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष इश्वर जंगमले बालबालिकाहरुको क्षेत्रमा काम गर्ने र बालमैत्री वडा घोषणा गर्न निरन्तर कृयाशिल ब्यक्तिहरुलाई बधाई, धन्यवाद र सम्मान ब्यक्त गरेका थिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बालमैत्री स्थानीय शासन राष्ट्रिय नीति २०६८, कार्यान्वयन कार्याविधि २०६८ र घोषणा कार्याविधि २०७० बमोजिम ३९ वटा सूचक पुरा गरेको छ । २०७२ साल देखि बालमैत्री सम्वन्धी विभिन्न कृयाकलापहरु संचालन हुँदै आएको उक्त वडामा २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भए सँगै बालमैत्री घोषणाका लागि आवश्यक पर्ने सूचक कार्यान्वयनले थप तिव्रता पाएको हो । सोहि अवसरमा बालबालिकाहरुको बस्तुगत विवरण २०७५, बालमैत्री स्थानीय शासन घोषणा पश्चात दिगोपनाका लागि रणनीतिक योजना, बालबालिकाहरुको स्थिती पत्र, बालमैत्री घोषणाका लागि सूचक प्राप्तिको अवस्थाका बारेमा पुस्तिका सार्वजनिक गरिएको छ ।

सूचक प्राप्तिका लागि पूर्ण स्तनपान, पूर्ण रुपमा खोप, भिटामिन ए क्याप्सुल, गर्भवति आमाले स्वास्थ्यकर्मीहरुबाट प्राप्त सेवा उपयोग, गर्भवति महिलाले लगाउने टिटानस खोप, आईरन चक्किको सेवन, सरसफाई, खानेपानी, शिक्षा, बाल विकास, बाल सहभागिता, संस्थागत सूचक लगायतका मापदण्ड पुरा गरे पछि बालमैत्री वडाका रुपमा घोषणा गर्न सहज हुनेछ । प्रदेश नम्वर ३ को दोश्रो बालमैत्री वडाका रुपमा जिल्लाकै पहिलो वडा पनौती १२ भएकोमा मन्त्री पण्डितले बधाई ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्