प्रदेश ७ मा जघन्य अपराधका घटना बढ्दै



विमल विष्ट, डोटी ।
गएको ४ महिनाको अबधीमा प्रदेश नम्बर ७ मा जघन्य अपराधका घटना बढेका छन् । यस अवधिमा बलात्कारपछिको हत्या सहित सात वटा जघन्य अपराधका घटना भएको ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरीका अनुसार कैलालीमा ३ र कञ्चनपुरमा ४ गरी ७ वटा जघन्य अपराधका घटना घटेका छन् ।
जसमध्ये कैलालीमा एक र कञ्चनपुरमा दुई युवति तथा बालिकाको बलात्कार पछि हत्या भएको छ । जघन्य अपराध सहित अन्य बलात्कार तथा हत्याका घटना नियन्त्रणका लागि प्रहरीले पहल चालेको बताएपनि उनिहरुले चालेको पहल सन्तोष जनक नभएको स्थानियको आरोपछ ।
त्यस्तै प्रदेश ७ मा कर्तव्य ज्यान, बलात्कार तथा जबरजस्ती करणी उद्योगका घटनामा निकै बृद्धि भएको देखिएको संघीय प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा कर्तव्य ज्यानका ४९ मुद्दा दायर भएका छन् । जवरजस्ती करणीका ९८ र जवरजस्ती करणी उद्योगका ५५ मुद्दा दर्ता भएको संघीय प्रहरी कार्यालय दिपायलका निमित्त प्रमुख बिक्रम चन्दले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘अपराधिक कृया कलाप बढ्नु भन्दा पनि समाजमा लुकेर रहेका घटनाहरु प्रहरी समक्ष पुग्न थालेकाले हाम्रो आकडा बढेको हो ।’ प्रहरीले समाजमा अपराधिक, अवांछित तथा उच्छृंखल गतिविधि नियन्त्रण गर्न विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको दाबी छ । प्रहरीले बस्ती भेटघाट, प्रहरी मेरो साथी लगायतका कार्यक्रम सुरु गर्दा निकै चर्चा पाउदा छटना प्रहरी समक्ष पुग्न थालेको प्रहरीको दाबी छ ।
प्रदेश ७ मा दिनप्रतिदिन अपराधिक कृयाकलापमा बृद्धि हुन थालेपछि यहाँका स्थानियबासीहरुमा चिन्ता र त्रास फैलिन थालेको दिपायलका स्थानिय खडक बिक्रम शाहीले बताउनु भयो । उहाँले भन्नु भयो ‘जहिले पनि हत्या हिंसा र बलात्कारका घटना सुनिन्छन,यि घटनाले मान्छेमा एक किसिमको त्रास फैलिएको छ ।’

प्रदेशको शान्ति सुरक्षा र जनताको जिउ धनको शुरक्षाका लागि प्रदेश प्रहरी अहोरात्र खटिएकाले कसैलेपनि डराउनु नपर्ने निमित्त प्रदेश प्रहरी प्रमुख चन्द बताउनु हुन्छ । प्रहरीलाई सक्रिय ढंगले परिचालन गर्न, अनुसन्धानलाई बलियो बनाउन संयन्त्र र संगठनलाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रदेश प्रहरीले योजना बनाइरहेको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्