ज्यान गएपछि सडक अवरुद्ध,पीडितमाथि नै अश्रुग्यास र लाठी चार्ज



नेपाल समाचारपत्र, हेटौंडा ।
ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएपछि हेटौंडामा अवरुद्ध गरिएको कान्तिलोकपथ प्रहरीले बल प्रयोग गरी खोलेको छ ।
हेटौंडा–१७, गैरीगाउँमा आइतबार ट्रिपरको ठक्करबाट स्थानीय एक युवाको ज्यान गएपछि आक्रोशित स्थानीयले अवरुद्ध बनाएको सडक प्रहरीले बल प्रयोग गरी खोलेको हो । पीडित परिवारसहित स्थानीयले आइतबार अवरुद्ध गरेको सडकमा प्रहरीले बल प्रयोग गरेर सोमबार अपराह्न ४ बजे यातायात सुचारु गरेको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ५० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, ट्रिपर चालकलाई कारबाही र सडकको क्षमता भन्दा बढी सामान बोक्ने सवारी सञ्चालनमा रोक लगाउनुपर्ने माग गर्दै स्थानीयले आइतबार सडक अवरुद्ध गरेका थिए ।
हेटौंडा बजारबाट गैरीगाउँतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बर ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ वर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो । मोटरसाइकल पछाडि बसेकी उनकी बहिनी सरिता घाइते भएकी छिन् । टंकको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सरिताको भरतपुरमा उपचार जारी रहेको छ ।

प्रहरीले ट्रिपर ल्याउनुअघि वार्ता गरेर मृतक परिवारको कुरा सुन्न प्रहरी÷प्रशासनलाई आग्रह गर्दा बेवास्ता गर्दै ट्रिपर हेटौंडा ल्याउन खोजेपछि झडप भएको थियो । व्यापक प्रहरी परिचालन गरेर ट्रिपर हेटौंडा ल्याइएको छ । ट्रिपर ल्याउनुअघि वार्ता माग गरेर प्रदर्शन गरेका स्थानीयमाथि प्रहरीले १० सेल अश्रुग्यास र लाठी वर्षाएको थियो । घटनामा ३ प्रहरी र ३ स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीसमेत ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाका दोषीलाई कारबाही र पीडितलाई न्याय प्रदान गर्न र सचेत गराउन पुगेका तरुण दल नगर अध्यक्ष गिरीमाथि प्रहरीले यस्तो हर्कत गर्नु लाजमर्दो भएको र तत्काल रिहा नगरे आन्दोलनमा जाने तरुण दल मकवानपुरको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्