पूर्वमा ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई, सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रतिशत



सरोज यादव, विराटनगर ।
पूर्वमा साउनको तेस्रो सातासम्म धान खेती हुने क्षेत्रफल मध्य ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । धान खेतीको लागि उर्वरभूमि मानिने तराई पहाडी क्षेत्रको कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टरमा धान खेती हुँदै आएकोमा साउन २१ गतेसम्ममा ३ लाख ९३ हजार ६१ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

पूर्वमा हालसम्म सबैभन्दा बढी उच्च पहाडी जिल्ला सोलुखुम्बुमा धान रोपाई भएको छ । सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएकोमा हालसम्म ९९ प्रतिशतमा धान रोपाई भएको छ । त्यस्तै सबैभन्दा कम सप्तरीमा ६० प्रतिशत धान रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।
हालसम्म ८४ प्रतिशत धान रोपाइ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगर वरिष्ठ अधिकृत राजेन्द्र उप्रेतीले जानकारी दिए । अहिलेसम्म झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ९५ प्रतिशत, मोरङमा ७८ हजार हेक्टर क्षेत्रफल मध्ये ९२ प्रतिशत धान रोपाइ भएको छ ।

यस्तै सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफल मध्ये ९६ प्रतिशत,सिरहामा ७८ प्रतिशत धान रोपाई भैइसकेको छ । इलाममा ७५ प्रतिशत, पाँचथरमा ९१ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत, तेह्रथुममा ७८ प्रतिशत,धनकुटामा ८८ प्रतिशत, उदयपुरमा ७५ प्रतिशत,ओखलढुंगामा ७० प्रतिशत, खोटाङमा ८८ प्रतिशत धान रोपाई भैसकेको कार्यालयले जनाएको छ । यस्तै ९५ प्रतिशत, संखुवासभामा ८६ प्रतिशत रोपाई भएको तथ्याङ्कले देखाएको छ । गतबर्ष यही समयमा ६८ प्रतिशत मात्र धान रोपाई भएको उप्रेतीले बए ।

यता कृषकहरुले भने यो बर्ष पर्याप्त पानी पर्नु र मल ,बीउको अभाव नभएका कारण समयमै धान रोपाई भएको प्रतिक्रिया दिएका छन् । मोरङको रतुवामाई नगरपालिका ५ का कृषक चुडामणी संग्रौलाले भने हामीलाई यसवर्ष मौसमले पनि साथ दिएको छ । पर्याप्त वर्षा र मल बिउका कारण कृषकलाई सहज बनाईदिएको छ । गतबर्ष आएको बाढीका कारण पूर्वमा धान रोपाई समयमै हुन पाएको थिएन भने धान उत्पादन पनि कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्