स्थानीय सरकारको संरचनाका लागि मासिँदै वन



नेपाल समाचारपत्र, हेटौंडा ।
प्रदेश–३ मा बन अतिक्रमण गरेर भौतिक संरचना बनाउने बढ्दो देखिएको छ । राज्य प्रादेशिक संरचनामा गएसँगै बनजंगल अतिक्रमण वृद्धि भएको बताइएको छ ।

बन अतिक्रमणका कारण हालसम्म जति बन संरक्षित हुनुपर्ने हो, त्यसअनुसार गर्न नसकिएको कार्यालयका बन अधिकृत नवराज पुडासैनीले बताउनुभयो ।

स्थानीय तथा प्रदेश सरकारको भौतिक संरचना बन्ने भवन बढ्दै छन् । ‘सरकारी भौतिक संरचना निर्माणका लागि कार्यालयमा चालु आर्थिक वर्षमा नै ३ वटा निबेदन परिसकेको छ,’ पुडासैनीले भन्नुभयो । स्थानीय सरकारबाट गाउँपालिका भवन बनाउनुपर्ने भन्दै माग बढिरहेको उहाँले बताउनुभयो ।

प्रदेशको कुल २० लाख ३० हजार ३ सय ३ हेक्टर क्षेत्रफल छ । कुल बनको क्षेत्रफल भने १० लाख ९० हजार आठ सय ७९ हेक्टर रहेकोमा बनलाई मात्र ढाकेको क्षेत्रफल भने ५३ प्रतिशत छ । जसमा सामुदायिक बन ४ हजार ५ सय ९, कबुलियत बन ३ हजार २५, धार्मिक बन ३३ वटा, संरक्षित बन १ र निजी बन ५ सय ८९ रहेको क्षेत्रीय बन निर्देशनालयको तथ्यांकमा छ ।

कार्यालयका अनुसार ४२ हजार दुई सय ८८ हेक्टर बन अतिक्रमणमा परेका छन् । चुरे क्षेत्रले चार लाख ७० हजार हेक्टर ओगटेको छ । कार्यालयको तथ्यांकअनुसार ३ हजार ४ घरधुरी बन अतिक्रमण गरेर बसोबास गरिरहेका छन् । अतिक्रमणमा रहेका जग्गामा प्रायः होटल, निजी घर, निजी विद्यालय सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

प्रदेश बन मन्त्रालय तथा कार्यालयबाट चालु आर्थिक वर्षको अन्तिमसम्म अतिक्रमणमा परेका बनबाट संरचना हटाइसक्ने लक्ष्य राखिएको पुडासैनीको भनाइ छ । अतिक्रमणबाट खाली गरिएका जग्गामा वृक्षरोपण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्