रेनीको रोमान्स



त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म रेनीको ट्रेलरसँगै मलाई नाईं नाईं बोलको गीत सार्वजनिक गरिएको छ।

भदौ ८ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको आइतबार राजधानीमा आयोजित एक समारोहबीच गीत र ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको गीतमा नवअभिनतृ सनम मल्ल र अभिनेता दीपक ढकाललाई रोमान्टिक मुडमा फिचरिङ गरिएको छ। पुष्कर सुनुवारको स्वर र संगीत रहेको गीतको भिडियो कोरियोग्राफी मदन खड्काले गरेका छन्। विमला मल्ल र संजीव मल्लको निर्माण तथा गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, विजय तिखातारीलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मकी स्क्रिप्ट राइटर र गीतकारसमेत रहेकी नवअभिनेतृ सनमले रेनीमा मायाप्रेम, हाँसो, रोदन र द्वन्द्वका साथमा सामाजिक विषय प्रस्तुत गरिएको बताइन्। उनले आफू नयाँ भएकाले सबैको माया र साथले नै अघि बढ्न हौसला मिल्ने बताइन्।

अभिनेता दीपकले रेनीको स्क्रिप्ट आफूलाई निकै मन परेको र दर्शकले फिल्म सफल गराइदिने विश्वास व्यक्त गरे।

निर्देशक गिरिशले रेनी आफ्ना लागि विशेष भएको बताए। निर्मात्री विमलाले निकै मिहिनेतका साथ राम्रो फिल्म बनाएकाले सफल हुनेमा आफूहरू विश्वस्त रहेको बताइन्। शाही मल्ल फिल्म्सको ब्यानरमा निर्मित फिल्म जयराम रिजालले खिचेका छन्। यसका गीतमा विनोद खुम्बुको पनि संगीत छ। फिल्मको द्वन्द्व राजु किराँतीले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्