युवती पनि दुव्र्यसनमा



बाँके, (नेस)
डोल्पा जिल्लाकी २० वर्षीया युवती ३० ट्याब्लेट नाइट्रोजेपामसहित नेपालगञ्जमा पक्राउ परेकी छन् ।

सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लागु औषध बोकेर नेपाल भित्रिदै गरेकी उनलाई इलाका प्रहरी कार्यालय, जमुनाहाले पक्राउ गरेको हो । स्कुटीमा आउदै गरेकी उनले पाइतलामा राखी चप्पलले च्यापेर नाइट्रोजेपाम ल्याउदै थिइन् ।

सीएमए पढ्दै गरेकी ती युवती नेपालगञ्जमै बस्छिन् । लागु औषधमा आइतबार नै म्याद थप गरेकी ती युवती आफै प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बाँके प्रहरीले दुई महिनाअघि खजुराबाट दुई किशोरीलाई ब्राउनसुगर खादै गरेको अवस्थामा पक्राउ ग¥यो । चार जना केटा साथीसँग बसेर ब्राउनसुगर खाइरहेको बेलामा प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट नौ सय मिलिग्राम ब्राउनसुगरसमेत फेला परेको थियो ।

१८ र २० वर्षका दुई युवतीलाई प्रहरीले अनुसन्धानका लागि ५० दिन जिल्ला प्रहरी कार्यालयमा राख्यो । पछि उनीहरु अदालतबाट धरौटीमा छुटे ।

बाँकेमा केटामात्रै होइन, केटीहरुसमेत लागु औषधका पारखी रहेको तथ्यांकले देखाएको छ । सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागु औषधमा केटासँगै केटीको पनि उत्तिकै पहुँच देखिएको छ ।

साथीहरुको लहलहैमा लागेर लागु औषधको कुलतमा पसेका प्रायः युवतीहरु यौन धन्दामा रहेको जानकारहरु बताउँछन् । बाहिरी जिल्लामा नेपालगञ्जमा पढ्न या अरु कुनै काम विशेषले बसेका तथा यहीका स्थानीय युवतीहरु पनि कुलतमा फसेको देखिएको छ ।

अभिभावकले पढ्न पठाएका युवतीहरु शहरमा आएपछि साथीको लहलहैमा कुलतमा फसेका हुन् । शनिबार साँझमात्रै पक्राउ परेकी डोल्पाकी युवती पनि त्यस्तैमा पर्छिन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टका अनुसार, आर्थिक वर्ष २०७४÷७५ मा ११ जना युवती लागु औषधमा पक्राउ परेका छन् । प्रहरी निरीक्षक विष्टले पुरुषसाथीसँग लागेर किशोरी÷युवती पनि कुलतमा फसेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्