राप्रपाको एकीकरण प्रक्रिया अलमलमा



रामकृष्ण चापागाईं, काठमाडौं
तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लाई पुनः एकीकृत गरी अघि बढ्ने कुरा अलमलमा परेको छ ।

पछिल्लो समय राप्रपा र राप्रपा प्रजातान्त्रिक एकीकरण गर्ने भनी दुईवटै पार्टीले वार्ता समितिसमेत गठन गरेका थिए । राप्रपाले बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो भने राप्रपा प्रजातान्त्रिकले दीपक बोहोराको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाको विवादित अभिव्यक्तिले राजसंस्था र हिन्दुराज्य पार्टी एकीकरणका लागि बटमलाइन बनेको सहमहामन्त्री सुरेश आचार्यले बताउनुभएको छ ।

यी दुई वार्ता समितिले औपचारिक रुपमा वार्ता नगरे पनि पार्टी एकताका लागि अनौपचारिक छलफल भने गरेका थिए । पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका वार्ता समिति सदस्य महामन्त्री सुनिल थापाको अभिव्यक्तिलाई लिएर राप्रपाले वार्ता नै स्थगन गरेको छ ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री थापाले राप्रपाले एकीकरणको वार्ता अघि बढाउन हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा छोड्नुपर्ने अभिव्यक्ति आएपछि अलमलमा रहेको एकीकरण प्रक्रिया थप विवादित भएको थियो ।

विवादित अभिव्यक्ति दिएको र वार्ता प्रक्रिया भाँडेको भन्दै राप्रपा प्रजातान्त्रिकका केशरबहादुर विष्ट समूहले शनिबार छलफल गरी महामन्त्री थापालाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेका थिए । विष्ट राप्रपा राष्ट्रवादीबाट निर्वाचन अघि राप्रपा प्रजातान्त्रिकमा आउनुभएको थियो ।

राप्रपा प्रजातान्त्रिकको विधान केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको राजनीतिक प्रस्तावविरुद्ध लागेपछि महामन्त्री थापाको आलोचना र विरोध भएसँगै उहाँ विवाद छल्न हिजो आइतवार केही दिनको लागि विदेश गएको स्रोतले जानकारी दिएको छ । ‘आफ्नो विवादित अभिव्यक्तिप्रति क्षमायाचना गर्दै महामन्त्री थापा तीन हप्ताका लागि आइतबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ’ –स्रोतले भन्यो ।

आफ्नो महामन्त्रीको अभिव्यक्तिलाई राप्रपा प्रजातान्त्रिकले भने पार्टीको आधिकारिक धारणा नभई उहाँको व्यक्तिगत धारणा भएको जनाउँदै आएको छ । राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री सुरेश आचार्य भन्नुहुन्छ– ‘अहिलेको विवादले एकीकरणको लागि बटमलाइन राजसंस्था र हिन्दु राष्ट्र कायम भएको छ ।

राप्रपा प्रजातान्त्रिक र राप्रपा दुवै पार्टीको महत्वपूर्ण एजेन्डा राजसंस्था र हिन्दु राष्ट्र भएको भन्दै उहाँले एकीकरणका लागि प्रस्थान विन्दु यही हुने धारणा राख्नुभएको छ ।

सबै राप्रपा एकीकरण गरी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न गर्न तीनै पार्टीभित्र व्यापक आवाज उठिरहेको छ । तीनवटै पार्टीका शीर्ष नेतृत्वले पार्टी एकीकरण गर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आलटाल गरेमा तीनवटै पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताले चौथो पार्टी गठन गर्नेदेखि अन्य पार्टीमा प्रवेश गर्नेसम्मको चेतावनीसमेत दिइरहेका छन् । पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेपछि पुराना नेता सबै सल्लाहकारको भूमिकामा बस्नुपर्ने उनीहरुको माग छ ।

अघिल्लो निर्वाचनमा संसदमा चौथो ठूलो दलको रुपमा रहेको राप्रपाले अहिलेको निर्वाचनबाट दलको हैसियतसमेत गुमाउन पुगेको छ । थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपाले २०७३ साल फागुनमा एकता महाधिवेशन गरी एकीकृत भएका थिए ।

त्यति बेला लोहनी राणा नेतृत्वको राप्रपामा थिए । महाधिवेशनले अध्यक्षमा थापालाई निर्वाचित गरेको थियो । महाधिवेशनपछि महाधिवेशनबाट स्वीकृत विधानअनुसार र एकीकरण हुनुपुर्व शीर्ष नेताबीच भएको मौखिक सहमतिलाई उल्लंघन गरी अध्यक्ष थापाले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै डा. लोहनीले अध्यक्ष थापालाई ११ बुँदे पत्र लेखेर पार्टी परित्याग गरेका थिए । लोहनीले त्यपछि अन्य नेताहरुसँग मिलेर नयाँ पार्टी राप्रपा (राष्ट्रवादी) गठन गर्नुभएको थियो ।

महाधिवेशनपूर्व राप्रपाका शीष नेताबीच पार्टीको अध्यक्ष थापा बन्ने र डा. लोहनीको नेतृत्वमा वरिष्ठ नेताहरुको ११ सदस्यीय नीति निर्धारण तथा निर्देशन समिति बनाउने भन्ने सहमति भएको थियो ।

यो निर्देशन समितिले पार्टी नीति बनाउने र पार्टीलाई समेत निर्देशन दिने उल्लेख थियो । यो समिति एकता महाधिवेशन सम्पन्न भएको एक महिनाभित्र बनाइसक्नुपर्ने भए पनि अध्यक्ष थापाले निर्देशन समिति गठन गर्न आलटाल गरेपछि डा. लोहनी बाहिरिएका थिए ।

–विवाद छल्न विदेश भ्रमण
–राजसंस्था र हिन्दु राष्ट्र बटमलाइन
–चौथो पार्टी गठनको चेतावनी
–पुराना नेता सल्लाहकारमा बस्न माग

एकता महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा रहेका लोहनीलाई निर्देशन समितिको अध्यक्ष बनाउने भनेकाले उहाँले महाधिवेशनमा पार्टी अध्यक्षका लागि उम्मेदवारी दिनुभएको थिएन ।

राप्रपाबाट लोहनी बाहिरिएपछि निर्देशन समितिको अध्यक्ष राणालाई बनाउनुपर्ने माग उठेको थियो । यही बीचमा अध्यक्ष थापाले पार्टीको सबै मनोनयन तथा नियुक्ति प्रक्रियामा पार्टीमा तथा शीर्ष नेताबीच छलफल नै नगरी एकलौटी ढंगले अघि बढेको भन्दै राणासमेत असन्तुष्ट बन्नुभएको थियो ।

अध्यक्ष थापा पार्टीलाई थाहा नै नदिई पार्टी भित्र कुनै छलफल नै नगरी उपप्रधान तथा स्थानीय विकासमन्त्री भएपछि राप्रपाभित्रको विवाद अझ चुलिँदै गएको थियो । अध्यक्ष थापाले स्थानीय निर्वाचन सम्पन्न गर्न सहयोग गर्नका लागि सरकारमा सहभागी भएको भने पनि सरकारमा सहभागी हुन पार्टीको माइन्युट नभएको नेताहरुले बताउँदै आएका थिए ।

प्रथम चरणको निर्वाचनमा राप्रपाले नराम्ररी हारेपछि पार्टीभित्र अध्यक्ष थापाको राजीनामा अथवा निर्देशन समिति गठन गर्न दबाब बढेको थियो । अध्यक्ष थापालाई असन्तुष्ट पक्षले अध्यक्ष र संसदीय दलको नेताबाट समेत हटाउने रणनीति बनाउन थालेपछि उहाँले एकलौटी ढंगले ४३ जना केन्द्रीय सदस्य मनोनित गरी सुरक्षित भएका थिए ।

यहि बीचमा मधेसको माग सम्बोधन गर्न ल्याइएको संविधान संशोधन प्रस्ताव पारित गर्ने उद्देश्यले संसद्मा ल्याइएको बेला राप्रपाका १४ जना सांसद अनुपस्थित भएपछि राप्रपा विभाजनतर्फ अघि बढेको थियो । अन्ततः राणाले पार्टी विभाजन गरी राष्ट्रिय प्रजातन्त्र पाटी (प्रजातान्त्रिक) गठन गर्नुभएको थियो ।

विभाजित तीनवटै राप्रपा विभिन्न गठबन्धन गरी निर्वाचनमा गए पनि अपेक्षित नजिता ल्याउन नसकेपछि पुनः पार्टी एकीकरण गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न असन्तुष्ट पक्षले प्रयास गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्