छोरालाई बिदेश जान रोक्न होटलमा लगानी



नेपाल समाचारपत्र, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा छोरालाई बिदेश जानबाट रोक्नकालागि एक बाबुले होटलमा लगानी गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ३ का मुकुन्द भण्डारी र सोही ठाउँका बिजय घिमिरेको संयुक्त लगानीयमा तिलोत्तमा नगरपालिका वडा नं. ३ मा ‘द ग्रिन लिफ रेष्टो’ खोलिएको हो ।

एक पटक बिदेश गई फर्केका घिमिरे र भण्डारीले आफ्ना जेठा छोरा आदित्य भण्डारीलाई बिदेश जानबाट रोक्नेका लागि नयाँ स्वाद र फरकपन दिने तथा लाईफ कन्सर्ट सञ्चालन गर्ने गरि होटलमा करिव एक करोड लगानी गरेको आदित्यका बुवा मुकुन्दले बताउनु भयो ।
उक्त होटेलको शनिबार होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उद्घाटन गर्नुभएको हो । होटलको उद्घाटन गर्दै अध्यक्ष जिसीले पछिल्लो समय आधुनिक खालका होटल व्यबसायमा युवाको लगानी बृद्धि हुँदै गएको बताउनु भयो ।
नेपालकै मध्ये भागमा पर्ने रुपन्देहीमा विश्व शान्तिको सन्देश दिने लुम्बिनी, अंग्रेजलाई प्रहास्त गरेको जितगढी किल्ला, भैरहवामा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रि बिमानस्थल, बुटवलमा बन्ने अन्तराष्ट्रिय सभाहल, यहाँको औद्योगिक बिकास र प्रदेशको राजधानी समेत बुटवलमा बनेकाले होटल व्यबसायमा लगानी बढ्दै गएको उहाँले बताउनु भयो ।

बिबिध सम्भावनाका कारण भविश्यमा आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रका रुपमा समेत बिकास हुन सक्ने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सबै लाग्न आवश्यक रहेको उहाँको भनाई छ ।
मुलुकको पर्यटन बिकासकालागि नीतिगत रुपमा कमजोर भएका कारण प्रभावकारी रुपमा पर्यटन बिकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष जिसीले राती १० वजेपछि होटल व्यबसाय बन्द गर्नुपर्ने परिस्थितीको अन्त्य गर्न प्रशासनसंग आग्रह गर्नुभयो । उहाँले अवका दिनमा राती १२ बजेसम्म होटल व्यबसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै प्रशासनले अनुमति नदिए व्यबसायीले अवज्ञा गर्ने चेतावनी दिनुभयो । कार्यक्रमको सञ्चालन होटल व्यबसायी मोहन पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्