इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने



इस्लामावाद ।
पाकिस्तानको तेहरीक–ए–इन्साफ ९पिटीआई० का अध्यक्ष इमरान खानलाई भोलि ९सोमबार० औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ ।

पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ ।

“पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरुको संख्या पुग्ने दावी पनि गर्नुभयो ।

पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाई छ । तर, संघीय संसदमा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको पनि उहाँले जानकारी दिनुभयो । बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्नेछन् ।

पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआइ सबैभन्दा ठूलो पार्टी भएपछि उहाँको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो ।

खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्