पश्चिम नेपालको प्रशिद्ध स्याउ खेती उपेक्षामा



नरेन्द्र केसी, दाङ ।
रोल्पाको जिनावाङ नेपालकै स्याउ उत्पादनमा प्रख्यात छ । पहाडी क्षेत्रमा हुने स्याउ उत्पादनमध्ये यहाँ सबैभन्दा मीठो स्याउ पाइन्छ ।
यति महत्वपूर्ण र बहुमूल्य स्याउको भण्डारण गाइगोठमा हुन्छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्छ होला तर यथार्थ यही हो । गंगादेव गाउँपालिका ३ मा पर्ने यो गाउँमा बर्षेनी करोडौंको स्याउ उत्पादन हुन्छ तर यसको भण्डारण र बजारीकरणमा सरकारले ध्यान नदिंदा गाइगोठमा भण्डारण गर्नुपर्ने बाध्यता रहेको छ ।

स्याउको क्षेत्र विस्तार भइरहे पनि आपूर्तिका लागि सडक र भण्डारीका लागि स्टोरको ब्यवस्था हुन नसक्दा आफूहले चाहे जति फाइदा लिन नसकेको कृषक रामबहादुर खत्रीले गुनासो गर्नुभयो । ‘यहाँको स्याउ पश्चिम नेपालकै चिनारी हो तर भण्डारण र आपूर्तिको समस्याले यो गाइगोठमै कुहिन बाध्य छ ।’ आपूर्ति गर्ने ब्यवसायीले किसानबाट किने पनि समयमै बजारमा पु¥याउन नसक्दा समस्या हुने गरेको छ ।

यहाँबाट सल्यानहुँदै दाङको बजारसम्म स्याउ पुग्ने गरेको छ । जसका लागि सल्यान खण्डमा सडक अवरुद्ध हुँदा अहिले स्याउ आपूर्ति ठप्प बनेको छ । सल्यानको बागचौर र दामाचौरहुँदै दुइ ठाउँबाट बाटो जाने भए पनि शारदा खोलामा पुल नहुँदा ठूलो पानी परेको बेला सडक अवरुद्ध हुने गरेको छ । जसका कारण आपूर्तिमा समस्या आएको आपूर्ति ब्यवसायी कुलबहादुर केसीले जानकारी दिनुभयो । स्याउ फार्मबाट सल्यानको कालाखेतसम्म लैजान एक दिन लाग्ने र त्यहाँ ग्रेडिङ गर्दा समय लाग्ने भएकाले ब्यवासायीले दुइ ठाउँमा निकासी शुल्क तिर्नुपर्ने बाध्यता छ ।

प्रदेश नम्बर ५ को रोल्पाले पाथीहाल्ना र कर्णाली प्रदेशको सल्यानले कपुरकोटमा कर लिने गरेको छ । ‘उही दिन रसिद काटेको रहेछ भने कर लाग्दैन तर २४ घण्टा कट्यो भने अर्को प्रदेशलाई अतिरिक्त कर तिर्नुपर्छ’– ब्यवसायी केसीले भन्नुभयो– ‘सडक र स्टोर हुँदा एकातिर किसानले भने जति पैसा पाएका छैनन् भने अर्कोतिर हामीले दुइवटा प्रदेशलाई कर तिर्नुपर्ने बाध्यता छ ।’ अहिले प्रदेश नम्बर ५ मा उत्पादन भएको स्याउ कर्णाली प्रदेशको सल्यानहुँदै पुनः प्रदेश ५ का दाङमा पुग्ने गरेको छ । यो समस्या समाधानका लागि जिनावाङ–कपुरकोट सडक कालोपत्रेको योजना अघि सार्नुपर्ने स्थानीयको माग छ ।

गापा अध्यक्ष भन्छन्– भण्डारणको ब्यवस्था मिलाउँछु
यसैबीच गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले जिनावाङमा स्याउ भण्डारणको ब्यवस्था चाँडै मिलाउने बताउनुभएको छ । ‘म अर्को बर्षसम्म यस्तो समस्या आउने दिने छैन’– उहाँले भन्नुभयो– ‘कृषि क्षेत्रमा लगानी गर्ने विभिन्न संस्थालाई अनुरोध गरेर स्याउ भण्डारणका लागि भवन निर्माणको ब्यवस्था मिलाउने छु ।’ विस्तारै यहाँ कोल्डस्टोर र ग्रेडिङका लागि पनि पहल गर्ने उहाँले बताउनुभयो । सल्यान खण्डमा सडक बिग्रेकाले समस्या रहेको जनाउँदै उहाँले रोल्पाको सडकमा समस्या नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्