बैतडीमा ४५ प्रतिशत बजेट असारमै खर्च



विनोद सिंह विष्ट, बैतडी ।
स्थानिय तहमा जनप्रतिनिधिले काम कारवाही थालिसकेको भएपनि विकास निर्माणका काम अझै असारमै हुने गरेका छन् । बैतडीमा गत आर्थिक बर्षको कुल पूँजीगत बजेट मध्ये ४५ प्रतिशत बजेट असार महिनामा खर्च भएको छ ।
अधिकांश विकास अडडहरुको रकम असारमा खर्च भएको हो । बजेट सिध्याउनकै लागी असार धमाधम विकास निर्माणका काम असारमा हुने गरेका हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा ७ करोड ९३ लाख बजेट खर्च भएको छ ।

बैतडीमा कुल पुँजीगत बजेट २ अर्ब १५ करोड ७९ लाख मध्ये १ अर्ब ८४ करोड ६४ लाख मात्रै खर्च भएको छ । खर्च भएको रकम मध्ये ४५ प्रतिशतको हाराहारीमा असार महिनामा खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले बताउनुभयो ।

अर्थमन्त्रालयले ढिलो रकम निकासा गर्दा रकम फ्रिज जाने र असारमै खर्च भएको देखिने कार्यालयहरुले बताएका छन् । पहिला तय भएका कार्यक्रममा पनि ढिलो बजेट निकासा हुने गरेको बताइएको छ । कुनै कार्यक्रम र बजेट पनि असारमै आउने गरेको प्रमुख कोष नियन्त्रक जोशीले बताउनुभयो ।

जिल्लाका मुख्य विकासे कार्यालयहरुको रकम काम गर्न नसकेर फ्रिज भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ३ करोड ५ लाख, डिभिजन सडक कार्यालयको १५ करोड २१ लाख, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको ८२ लाख जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयको ३ करोड ७२ लाख र जिल्ला समन्वय समिति(जिल्ला प्राविधिक) कार्यालयको ३ करोड ७२ लाख रकम फ्रिज गएको कोष नियन्त्रक जोशीले बताउनुभयो ।
गाउँगाउँमा सरकार पुगेपनि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै ढर्रामा रहेको भन्दै स्थानीय असन्तुष्ट समेत बनेका छन् ।

‘स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छ भन्ने आसा भएपनि त्यसको हुन नसकेको दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो“स्थानिय सरकारको भएको अनुभुती गरिएको भएपनि असारे प्रवृति भने कायम छ। ”

स्थानिय तहहरुले भने बजेट सिध्याउनकै लागी असारमा आएर विकास निर्माणका कामहरु गर्ने गरेको भएपनि गुणस्तरिय नहुँने गरेको स्थानिय बासिन्दाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्