बैतडीमा पेट्रोल आयत ठप्प, कालोबजारीले जनता हैरान



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीमा रहेको एकमात्र आयल स्टोरले बिगत २ बर्षदेखि पेट्रोल आयत नगर्दा पेट्रोल किन्दा उपभोक्ताहरु चर्को मूल्य तिर्न बाध्य भएका छन् ।साथै यसले गर्दा पेट्रोलमा कालोबजारी समेत मौलाउदै गएको छ ।

पेट्रोलको सरकारी मूल्य १०४ रुपैया लिटर भएपनि उपभोक्ताहरुले १३५ देखि १५० रुपैंया सम्म प्रतिलिटर पेट्रोलका लागि तिरीरहेका छन् । सतबाँझमा रहेको जिल्लाको एकमात्र भण्डारी आयल स्टोरले पेट्रोल आयत नगर्दा उपभोक्ताहरुले चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य भएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोस पाण्डेयले बताए ।

पेट्रोल पाउन छोडेपछी उपभोक्ता भारतीय सीमावर्ती बजार झुलाघाट तथा बाहिरी जिल्लाबाट ल्याउन बाध्य समेत भएका छन् । यसका साथै पेट्रोल नपाउँदा उपभोक्ता महंगो तथा मिसावट गरिएको पेट्रोल किन्न बाध्य भएका हुन् ।

गएको दुई बर्ष यता उपभोक्ताहरुले चर्को मूल्यमा पेट्रोल किन्नुपरीरहेको दशरथचन्द नगरपालिका वडा नं १ का यूवा समाजसेवी अमरबहादुर टेरले बताए। उनले भने “सधैं महंगो मुल्यमा पेट्रोल किन्नुपर्ने बाध्यता छ, सम्वन्धित निकाय मौन बसेको छ । ” सतबाँझदेखि गोठलापानी सम्म १६ पसलबाट पेट्रोलको कालोबजारी भईरहेको उनको भनाई छ ।

पेट्रोलमा घाटा हुने, तापक्रम पनि नमिल्ने भएकाले पेट्रोल आयत गर्न नसकिएको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताए ।

पेट्रोलमा भईरहेको कालाबजारीका बारेमा आयलस्टोर र उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग छलफल गरेर टुंगोमा पुग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताउनुभयो । उनले भने“ म जिल्लामा हाजिर भएको तिन चार दिन मात्रै भएकाले पेट्रोलको बिषयमा छलफल गरिनेछ ।”

यसैबीच पेट्रोलमा भईरहेको कालोबजारीको विरुद्ध आज सतबाँझदेखि गोठलापानी सम्म मोटरसाइकल र्याली निकालिने नयाँजीवन समाज नेपालका अध्यक्ष अमरबहादुर टेरले बताए । र्यालीपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्