अस्पताल परिसरमै फोहोरको डंगुर, अस्पताल प्रशासन बेखबर



हेटौंडा,(नेस) ।
प्रदेशको राजधानीमा रहेकोले स्तरोन्नति हुनुपर्ने आवाज उठे पनि हेटौंडा अस्पतालको उपचार कक्षनजिकै फोहोरको थुप्रोले लाज लाग्ने अवस्था देखाएको छ । फोहोर राखिएको धेरै समय बित्दासमेत हटाउने काम भएको छैन ।

सरकारले हेटौंडा अस्पताल विकास समिति विघटन गरेको अवस्था र अस्पतालमा नयाँ भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको अवस्थामा अस्पतालको उपचार कक्षनजिक फोहोर नउठ्दा बिरामीलाई सास्ती भइरहेको छ ।

उपचार कक्षनजिक फोहोरको थुप्रो छ । फोहोरको दुर्गन्धले बिरामी र कुरुवालाई समेत समस्या भइरहेको शनिबार हेटौंडा अस्पतालमा उपचारका लागि आएका एक बिरामीका परिवारले भने ।

हेटौंडा उपमहानगरपालिकाले मेडिकलजन्य फोहोरलाई तीन भागमा विभाजन गरेर फोहोर व्यवस्थापन गर्ने भनिए पनि हाल अस्पताल प्रशासनले बेवास्ता गर्दा समस्या भइरहेको छ ।

हेटौंडा अस्पतालले कुहिने, नकुहिने र मेडिकलजन्य अन्य फोहोरलाई छुट्टाछुट्टै विभाजन गरेर राख्ने व्यवस्था मिलाएको भनिए पनि फोहोर व्यवस्थापनमा भने खासै चासो देखाएको पाइँदैन ।

अस्पतालले कुहिने, नकुहिने र मेडिकलजन्य फोहोर नछुट्याएर एकैस्थानमा राखिरहेको छ । मेडिकलजन्य फोहोरमात्र नभएर हेटौंडा अस्पतालपरिसरको सबै फोहोर सोही स्थानमा लगेर थुपारिने गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको मेडिकल स्टोर्ससँगै फोहोरको डङ्गुर रहँदा जनस्वास्थ्य कार्यालयलाई समेत दुर्गन्धित भएको छ । हेटौंडा अस्पताललाई उक्त स्थानमा फोहोर व्यवस्थापन नगर्न पटक÷पटक आग्रह गर्दासमेत बेवास्ता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले भने ।

आफ्नो जग्गामा आफूले फोहोर राख्न पाउनुपर्ने तर्क हेटौंडा अस्पताल प्रशासनको छ । तर, धेरै पटक प्रयास गर्दासमेत अस्पतालले फोहोर नहटाएपछि ताकेता गर्नै छाडिएको ती कर्मचारीले भने ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट कमल दवाडीले यस विषयमा आफूलाई जानकारी नरहेको बताउनुभयो । फोहोर व्यवस्थापन गर्दै आएको दाबी गर्दै उहाँले फोहोर नउठेको भए उठ्ने व्यवस्था मिलाइने बताउनुभयो ।

पछिल्लो समय हेटौंडा अस्पतालप्रति जनविश्वास बढिरहेको समयमा सानासाना विषयमा अस्पताल प्रशासन गम्भीर हुन जरुरी रहेको औंल्याइएको छ । हेटौंडा अस्पताल रिफर सेन्टर उपमाबाट माथि उठ्न हरेक क्षेत्रमा क्रमशः सुधिँ्रदै अगाडि बढ्नुपर्ने देखिन्छ ।

अस्पतालबाट निस्कने फोहोर ब्यवस्थापन गर्न हेटौंडा नगरपालिकाले २०६४ सालमा निर्माण गरिदिएको इन्सिनेटर बिग्रिएपछि अस्पतालको फोहोर ब्यवस्थापनमा समस्या देखिएको हो ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले इन्फो नामक वातावरणीय गैरसरकारी संस्थाको सहयोगमा तीन लाख रुपियाँ खर्च गरेर इन्सिनेटर निर्माण गरिदिएको थियो । इन्सिनेटर पुरानो भएर बिग्रिएको लामो समय हुँदा समेत बनाइएको छैन ।

फोहोर जलाउँदा निस्कने धुवाँ हावाको माध्यमबाट सीधै अस्पतालको आकस्मिक कक्ष र इनडोरमा जाने भएकाले अस्पतालमा आउने बिरामी, भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीलाई समस्या हुने भएपछि फोहोरको व्यवस्थापनमा समस्या भइरहेको छ ।

अस्पतालबाट निस्कने सिरिञ्ज, व्याण्डेज, स्लाइनका बोतल, औषधीका बोतल, कपासलगायत फोहोर जथाभावी जलाउँदा निस्कने दुर्गन्ध स्वास्थ्यका लागि बढी हानिकारक हुने भएकाले तत्काल यसको व्यवस्थापन प्रयास थाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्