पुस्तकालयको अगुवाइमा भाषा शुद्धिकरण अभियान



नरेन्द्र केसी, दाङ ।
दाङको पुरानो सर्वोदय पुस्तकालय तथा वाचनालयको अगुवाइमा घोराहीमा भाषा शुद्धिकरण अभियान सञ्चालन गरिएको छ ।
बजारका साइनबोर्डहरुमा अशुद्ध भाषा लेखिदा त्यसले पठन संस्कृति र सभ्यतामाथि नै प्रश्न उठाएको भन्दै पुस्तकालयको अगुवाइमा अभियान थालिएको हो । पुस्तकालयले थालेको अभियानमा सबैभन्दा पहिले स्थानीय टोल विकास संस्थाहरुले साथ दिएका थिए भने अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि साथ दिएको छ । पुस्तकालय र जिल्ला उवासंघको आयोजनामा साइनबोर्ड लेख्ने ब्यवसायीलाई भाषा प्रशिक्षण दिइएको छ ।

पुस्तकालय ब्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमले घोराही उपमहानगरपालिका १४ र १५ का बोर्ड शुद्ध पारेर यो अभियान दाङ जिल्लाभरि विस्तार गर्ने बताउनुभयो । भाषा पहिचान भएको औल्याउँदै उहाँले शुद्ध भाषा सभ्यताको सूचक पनि भएकाले पुस्तकालय रहेकै टोलबाट अभियान शुरु गरिएको बताउनुभयो । २०१० सालमा स्थापना भएको यो पुस्तकालय दाङको राजनीतिक, सामाजिक र शैक्षिक जागरणको पर्याय भएकाले पछिल्लो समयमा यो अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

पुस्तकालयको भाषा शुद्धिकरण उपसमितिका संयोजक पद्यप्रसाद शर्माले नेपाली भाषामा लेख्ने र बोलिने भाषामा फरक आउन थालेकाले एकरुपता ल्याउन जागरणमूलक अभियान थालिएको बताउनुभयो । विज्ञ टोलीबाट अध्ययन गर्दा ९० प्रतिशत बोर्डमा त्रुटि देखिएपछि बोर्ड लेख्ने ब्यवसायीलाई नै प्रशिक्षण दिइएको उहाँले बताउनुभयो । धेरै कोशिस गर्दा पनि ब्यापारीका साइनबोर्ड अशुद्ध देखिएकाले यो अभियानमा साथ दिएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो । ब्यापारीले भन्दा पनि बोर्ड लेख्ने ब्यवसायीले नै शुद्धाशुद्धीमा ध्यान दिनुपर्ने उहाँको धारणा छ । ठूला भाषणभन्दा सानो काम गरेरै देखाऔं भनेर अभियान थालिएको उहाँले जानकारी दिनुभयो ।

त्यसो त घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी सरकारले गर्नुपर्ने काम बौद्धिक क्षेत्रबाट भएको भन्दै खुशी व्यक्त गर्नुहुन्छ । पठनपाठनका क्रममा नेपालीमा मात्रै शुद्ध हुनुपर्ने र अरु बिषयमा अशुद्ध लेखे पनि उत्तीर्ण गराउने शिक्षा प्रणालीका कारण भाषामा लापर्वाही बढेको उहाँको धारणा छ । यसको सुधारका लागि सञ्चारमाध्यमसहित सबै ठाउँमा शुद्धिकरण जरुरी रहेको उहाँले बताउनुभयो ।

यसैबीच पुस्तकालयले अक्षयकोष बृद्धि र आजीवन सदस्यता विस्तारका लागि पनि अभियान थालेको छ । अक्षयकोषमा दुइ हजार पाँच सय भन्दा बढी सहयोग गर्नेलाई स्वतः आजीवन सदस्यता प्रदान गर्ने गरी अभियान अघि बढाइएको सचिव सुदीप गौतमले जानकारी दिनुभयो । केही दिनअघि सभामुख कृष्णबहादुर महराले सदस्यता लिएर आजीवन सदस्यता अभियान शुभारम्भ गर्नुभएको थियो । आजीवन सदस्यता शुल्क एक हजार पाँच सय रुपैयाँ रहेको छ ।पुस्तकालयको भवन निर्माणका लागि चालु आर्थिक बर्षमा प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ भने शिक्षा मन्त्रालयले भर्खरै दश लाख रुपैयाँ अनुदान पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्