निर्जलाको गीतमाथि स्पर्धा



रिलिजका लागि तयार फिल्म निर्जलामा समावेश भाले मोटर बोलको गीतको कभर भिडियो प्रतियोगिता घोषणा गरिएको छ। राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको फिल्मको सो गीत राजधानीमा अयोजित एक समारोहबीच प्रदर्शन गरिएको थियो।

भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माले नृत्य गरेका छन्। सलिलसुन्दर तुलाधर र सवनम आचार्यको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ भने यसको भिडियोको कोरियोग्राफी क्रान्ति केसीले गरेका छन्। आगामी असोज १९ गते प्रदर्शन हुने फिल्मको सो गीतको कभर भिडियो भदौ दोस्रो सातासम्म साइराम पिक्चर्सको इमेलमा पठाउनुपर्ने प्रावधान छ।

निर्माता प्रकाशचन्द्रले प्राप्त भिडियोमध्ये प्रथम हुनेलाई नगद ५० र दोस्रो हुनेलाई ३० हजार रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी दिए। कभर भिडियोका विजेतालाई आफूले निर्माण गर्ने नयाँ फिल्ममा उचित भूमिका पनि दिइने निर्माता प्रकाशचन्द्रले बताए। गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा किशोर, शुभेच्छा र निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अञ्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीले अभिनय गरेका छन्। कार्यक्रममा फिल्मका संगीतकार तथा गायक बाबुलले निर्जलाको शीर्ष गीत, दशैं गीत र भाले मोटर पनि गाएका थिए।

प्रतिक्रिया दिनुहोस्