घटेको बजारमा कारोबार रकम भने सामान्य वृद्धि



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता १८१ कम्पनीको शेयर किनबेच र भएको छ। कुल १५ हजार ३१० कारोबारबाट १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपियाँबराबरका ४० लाख ८४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १ दशमलव ९४ प्रतिशत बढी हो।

गत साता १७९ कम्पनीको कारोबार भएको थियो। जसअनुसार १६ हजार ८८६ कारोबारबाट १ अर्ब ५ करोड ६२ लाख ९१ हजार रुपियाँ बराबरका ३९ लाख ४५ हजार ७६० कित्ता शेयरहरू खरिद बिक्री भएका थिए। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अंकले घटेर अन्तिम दिन ११९१.३१ अंकमा पुगेको छ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ४० अंकले घटेर २५१ दशमलव १५ अंकमा आइपुगेको छ।

यस साता कारोबार रकम (६ करोड ८७ लाख १० हजार रुपियाँ) को आधारमा तथा कारोबार भएको शेयर संख्या (३ लाख ३५ हजार कित्ता) को आधारमा माछापुच्छ«े बैंक अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार संख्या (७३१ वटा) को आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन। यसअघि साताको अन्तिम नेप्से मा सामान्य गिरावट आएको छ। यस दिन परिसूचक २ दशमलव ५६ अंकले घटेर १ हजार १ सय ९१ दशमलव ३१ को बिन्दूमा बन्द भएको छ। यस दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको कारोबार भएको छ। यस कम्पनीको ३ करोड २८ लाख ३९ हजार ११८ रुपियाँको कारोबार भएको छ।

त्यस्तै सर्वाधिक कमाउनेमा वेस्ट फाइनान्सका लगानीकर्ता रहेका छ। यस कम्पनीको शेयर मूल्य ४ दशमलव शून्य ८ प्रतिशतले बढेको छ। उता सर्वाधिक गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता रहेका छन्। यस कम्पनीको शेयर मूल्यमा ९ दशमलव ६७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्