सोयाविन र सनफ्लावर तेलको उत्पादनमा भारी कटौती



नेपाल समाचारपत्र
विराटनगर,
सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत सोयाविन र सनफ्लावर तेल उद्योगको कच्चापदार्थ आयातमा ३ सय प्रतिशतभन्दा बढी भन्सार महशुल वृद्धि र भ्याट फिर्ता खारेज गरेपछि उद्योगीले उत्पादन कटौती गरेका छन्।

बजेटबाट सरकारले ४० प्रतिशत भ्याट फिर्ताको प्रावधानसमेत खारेज गरेको छ। यसअघि कच्चापदार्थको आयातमा साढे २ प्रतिशत लाग्दै आएकोमा साउन १ देखि १० प्रतिशत भन्सार महशुल लागू गरिएको छ। जसका कारण उत्पादन लागतमा समेत वृद्धि भएको छ। महशुल वृद्धिसँगै सोयाविन र सनफ्लावर तेलको होलसेल मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि भइसकेको छ। सरकारी नीतिकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सञ्चालित तेल उद्योगले अहिले ५० प्रतिशत उत्पादन कटौती गरेका छन्।

विगतमा प्रतिमहिना ४ सयभन्दा बढी मेट्रिक टन तेल उत्पादन हुँदै आएकोमा करकै कारण प्रतिमहिना तेल उत्पादन २ सय मेट्रिक टनको हाराहारीमा झरेको छ। उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य नन्दकिशोर राठीका अनुसार सरकारी नीतिकै कारण उद्योगले ५० प्रतिशत उत्पादन कटौती गर्नुपरेको छ। उहाँले बजारको अवस्था हेरेर अझै उत्पादन कटौती गर्ने कि भन्ने योजनामा उद्योगीहरू रहेको पनि बताए। सरकारले साउन १ गतेदेखि लागू हुने गरी मजदुरको पारिश्रमिक १३ हजार ४ सय ५० रुपियाँ पुर्याउने निर्णय गरिसकेको छ। यसको मार पनि उद्योगीलाई परिरहेको छ।

भारतलगायत अन्य मुलुकबाट आउने तयारी तेलसित अब आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो पर्ने उद्योगी नरेश राठीको भनाइ छ। तयारी तेलको भन्सार महशुल १५ प्रतिशत छ। साढे २ प्रतिशत कच्चापदार्थको भन्सार हुँदा पनि १५ प्रतिशत थियो र अहिले कच्चापदार्थको १० प्रतिशत भन्सार महशुल पुर्याउँदा पनि तयारी तेलको १५ प्रतिशत नै भन्सार महशुल छ। कच्चा पदार्थ र तयारी तेलको भन्सार अन्तर ५ प्रतिशतमात्रै फरक छ। यसले आयात वृद्धि हुने उद्योगीहरू बताउँछन्।

विद्युतको भोल्टेज तलमाथि हुने समस्या, प्रतिस्र्धात्मक क्षमतामा ह्रास, भन्सार महशुल, मजदूरको पारिश्रमिक र बैंकको ब्याज वृद्धिका कारण उद्योग सञ्चालन गर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ। तीनै तहको निर्वाचनपछि बनेको सरकारले लगानीमैत्री वातावरण बनाउने आशमा बसेका उद्योगीहरू बजेटपछि झनै निराश बनेका छन्। निजी क्षेत्रलाई बेवास्ता गरेर बजेट ल्याएकोमा उद्योगीहरूले सरकारको ध्यानाकर्षण गराइसकेका छन्। मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा सोयाविन र सनफ्लावर तेल उत्पादन गर्ने पशुपति, बाबा, स्वस्तिक, वागमती र क्वालिटी गरी ५ उद्योग सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्