यादव खरेलका गतिशीलताहरू



मोहन दुवाल
काभ्रेपलाञ्चोकको खरेलथोक। प्रख्यात पलाञ्चोक भगवतीको आसपासमा रहेको गाउँ। जहाँ खरेलहरूको बाहुल्यता रहेको गाउँ भएकैले गाउँको नाउँ रह्यो खरेलथोक। खरेलहरू चेतनशील र शिक्षित रहेकै कारणले धेरै क्षेत्रमा यिनीहरूले राष्ट्रिय कीर्तिमान कायम गरे। प्रहरी सेवामा आईजीपी रहेर सेवा गरे अच्युतकृष्ण खरेलले, उनी यादव खरेलकै भाइ हुन्। गीत लेखनमा किरण खरेलले आफ्नो राष्ट्रिय नाम बनाए। गायन क्षेत्रमा दीपक खरेल। भक्ति साहित्यमा भारती खरेल। समीक्षा विधामा सुशीला खरेल (भट्ट) को नाउँ जगजाहेर रहेकै हो। प्रशासनिक सेवा र समाज सेवामा चन्द्रिकानन्द खरेल भनेझैँ राजनीतिमा राजेन्द्र खरेलको नाम अविस्मरणीय छ। थुप्रै नामहरू छन्÷होलान् उल्लेख गर्नलायकका। मैले सन्दर्भमा केही नामहरू मात्र उल्लेख गरें। यही खरेलथोकका अत्यन्त आदरयोग्य र धेरै क्षेत्रमा आफ्नो नाम बनाउन सफल व्यक्तित्व हुन् यादव खरेल।

यादव खरेलको जन्म वि.सं. १९९९ फागुन महिनामा काभ्रेको खरेलथोकमा भएको हो। माता सरस्वतीदेवी खरेल र पिता गोपीकृष्णका छोरा भई जन्मेका यिनले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेको देखिन्छ। यसै गरी यिनले कानुन विषयमा बी.एल. र चलचित्र निर्माण निर्देशनमा डिप्लोमा गरेको देखिन्छ। यिनी नेराप्रप्रमा प्राज्ञ परिषद्का सदस्य रहनुका साथै शाही नेपाल चलचित्र संस्थान, चलचित्र निर्माता सङ्घ, नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष÷महाप्रबन्धक, उपाध्यक्ष÷महासचिव रहेर सेवा गरेको देखिन्छ। वि.सं. २०१२ मा नै कविता प्रकाशन गरेर आफूलाई साहित्यका मर्मज्ञ व्यक्तिका रूपमा देखाउन सफल यिनी प्राध्यापन सेवा पुर्याएर, चलचित्र निर्देशक रहेर, कार्यक्रम प्रस्तोता भएर, चलचित्रका निर्माता र लेखक भएर, मर्मशील गीतकारका रूपमा परिचय बाँडेर, कविता, नाटक, गीत, आलेख, नियात्रामा आफ्नोपन छोडेर आफूलाई धेरै क्षेत्रमा चिनाउन सफल व्यक्तित्व हुन्।

२०४४ सालको ‘आठोट’ प्रकाशन गर्दाताका कृष्णप्रसाद पराजुलीसँग भएर कुमारीगालस्थित उनको घरमा पुगेको मलाई सम्झना छ। त्यसताका यिनी राजनीति बोकेर पनि आफूलाई सक्रिय तुल्याउन जाँगर चलाएको देखिन्छ। म चिन्दछु उनलाई धेरै नजिकले, बान्की परेका यिनका शब्द र मुहारले मलाई त्यसताकादेखि मोहित तुल्याएको स्मरण मनमा आइरहन्छ। साहित्यिक कार्यक्रमहरूमा कहिलेकाहीँ भेट्दा उनी मलाई सम्बोधन गरेर भन्ने गर्छन्– ‘कृष्णप्रसाद पराजुली र तपाईंले काभ्रेलाई चिनाएकै हो।’ कन्जुस्याइँ नगरेर मूल्याङ्कन गर्ने गर्छन्। यिनी आफ्ना कुराहरू ढुक्क फुकाएर गर्छन्। राजनीति बोकेर आफ्नो प्रचारमा लाग्दा होस्, चलचित्र निर्माणमा निर्माता भएर कर्मशील हुँदा होस्, जागिरेको क्रममा आफूलाई समर्पित तुल्याइरहँदाको क्षणमा होस्, गीतमा माधुर्यता व्यक्त गर्ने सवालमा किन नहोस्, सबै क्षेत्रमा यिनले आफ्नो स्फूर्तिदायक भावनाहरू सम्प्रेषण गरेको देखिन्छ। २०४४ सालमा ‘अठोट’ मा छापिएको अर्थात् ३१ वर्षअगाडि यिनले लेखेको कविताको अंश ‘आजको नेपाल कस्तो छ ? रामराज्यजस्तो छ’ आजको सन्दर्भमा पनि मिल्दोजुल्दो नै देखिन्छ। त्यसताका नै यिनी देशको स्थिति भोगेर कवितामा यसरी लेखे–

उहिले–उहिले यहीँ पाँडेपजनी हुन्थ्यो रे
सबभन्दा अग्लो मानिस फलानादेखि दाहिने
लाम लागेका जतिको थमौती सदर
देब्रेपट्टिका जतिको बदर भन्ने चलन थियो रे !
अहिले पाँडेपजनी चलेकै छ–
किल्ला–किल्लामा आफ्ना नहुनेहरू
पाँडेपजनीमा परेकै छन्,
थिचोमिचोले मरेकै छन्।
चाकडीचुक्ली लाउने, खुवाउने, पिलाउने
हनुमान र झन्डावालहरूकहाँ धाउने,
इमानदारमा दरिएकै छन्
भन्सार, अन्तःशुल्क, कर र वन विभागभरि छरिएकै छन्।
लोसे आयोगको नियम आफ्नो ठाउँमा दुरुस्तै छ,
पाँडेपजनी पनि आफ्नो ठाउँमा उस्तै छ,
सबैतिर कस्तो चाँजोपाँजो मिलेको, यहाँ रामराज्यजस्तो छ।

कवितामा व्यङ्ग्यमा बोलेजस्तै देश पोख्न सक्ने, गीतमा माधुर्यता छर्केर मनोरम गीत बनाउन सक्ने, नियात्रामा स्वाभाविकता खोपेर प्रकृति र क्षण–क्षणका घटना–प्रसङ्गहरूलाई सम्प्रेषण गर्न खोज्ने, जागिरमा आफ्नो नेतृत्व देखाएर वाहवाही लुट्न सक्ने, चलचित्र जगत्मा आफ्नो छुट्टै पहिचान देखाएर साहित्यकै स्तम्भलाई चलचित्रमा देखाउन साहस गर्ने, विदेशी रेडियो सेवामा छँदा शक्तिशाली तरङ्गहरू दिएर आफूलाई शक्तिशाली प्रस्तोताका रूपमा परिचय देखाउन सक्ने यिनी सबै क्षेत्रमा सफल छन्। राजनीतिलाई यिनले चिनेनन् कि राजनीतिले यिनलाई चिनेन्, राजनीतिमा यिनी देखा परे तर यिनले सफलता काँधमा राख्न सकेनन्।

चलचित्र क्षेत्रमा यिनको विशिष्टता उल्लेखयोग्य छ। यिनले चालीसौं चलचित्रमा गीत लेखे। चलचित्र क्षेत्रमा विशिष्टता उल्लेखयोग्य छन्। चलचित्रहरू चेलीबेटी, लोभीपापी, आँधीबेहरी, प्रेमपिण्ड, नासो, श्रीस्वस्थानी, आदिकवि भानुभक्त, हत्तेरीको पटकथा लेखन गर्नुका साथै निर्माण र निर्देशन गरेको देखिन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा, बुहारी, अँध्यारोबाट उज्यालोतिर, विज्ञापन आदि वृत्तचित्र र लघुचलचित्रको लेखन मात्र गरेनन्, निर्देशनसम्म गराए। चलचित्र र गीतलेखनमा उत्कृष्ट ढङ्गको नाम बनाइसकेका यिनी सम्पादन÷पत्रकारितामा पनि आफू सक्दो सक्रिय रहेको देखिन्छन्। यिनको सम्पादनमा घुएँत्रो (२०४२–२०४४) मा साप्ताहिक प्रकाशित भएको देखिन्छ। बीबीसी नेपाली सेवामा (१९६९–१९७१) दुई वर्ष सेवा पुर्याएर आफ्नो छवि यिनले सञ्चारजगत्मा पनि स्थापित गरेको देखिन्छ। यिनका प्रकाशित साहित्यिक पुस्तकहरूमा (१) अनि एउटा लहर ब्युझन्छ (कविता–२०२२), (२) सुमद्रपारि (नियात्रा–२०२९), (३) यादव खरेलका मुक्तकहरू (मुक्तक–२०३०), (४) खलबल (हास्यव्यङ्ग्य कविता–२०४७), (५) यस्तो पनि हुँदोरहेछ (गीत–२०४८), (६) आदिकवि भानुभक्त (नाटक–२०५७), (७) यस्तै रहेछ यहाँको चलन (गीत–२०५९), (८) महाकवि लक्ष्मीप्रसाद देवकोटा (आलेख–२०६१) छन्।

काभ्रेबाट राष्ट्रिय रूपमा आफ्नो छवि देखाएर धेरै क्षेत्रमा कर्मशील रहेका यादव खरेल काभ्रेको बौद्धिक, साहित्यिक व्यक्तित्व हुनाका साथै चलचित्रजगत् र गीतलेखन क्षेत्रमा यिनको नाम उच्च रहेको छ। थुप्रै पट्ट, बाहु, स्वर्णपदक, पुरस्कार, सम्मान प्राप्त गरिसकेका यिनी साहित्यिक क्षेत्रमा नियात्राकार, मुक्तककारका रूपमा पनि प्रतिस्थापित छन्। राष्ट्रप्रति बफादार, देशकै भलो चिताउने यिनी कवितामा देशको भलो यसरी चिताउँछन्–

पराईको रमझममा आफन्तलाई भुल्न गाह्रो छ
जहाँ पुगे पनि मलाई मेरो देश नेपाल प्यारो छ।

मलाई लाग्छ, काभ्रे जिल्लाकै एउटा गौरवपूर्ण नाम बन्न सफल खरेलका यात्राका गतिशीलताहरू उल्लेख्य छन्, गौरव गर्न लायकका छन्, इतिहासमा सधैँ रहने नाम बनेका छन्। ‘अक्षरमार्ग’ मा यिनी हिस्सी परेर कुद्न सकिरहून्, शुभकामना छ।

२०४४ सालमा ‘अठोट’ मा छापिएको अर्थात् ३१ वर्षअगाडि यिनले लेखेको कविताको अंश ‘आजको नेपाल कस्तो छ ? रामराज्यजस्तो छ’ आजको सन्दर्भमा पनि मिल्दोजुल्दो नै देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्