लोकदोहोरीमै मज्जा



फुलबुट्टे रातो साडीमा, लैजाउँकी कान्छीलाई बुटवल हुँदै पाल्पा गाडीमा गीतबाट लोकदोहोरी क्षेत्रमा स्थापित प्रमिला राई १६ वर्षदेखि यही क्षेत्रमा रमाउँदै आएकी छिन्। काठे, पूर्वेली र पश्चिमेली लोकगीत मात्र हैन, आधुनिक गीत गाउन पनि उत्तिकै सिपालु प्रमिला केही वर्ष वैदेशिक रोजगार र फिल्म क्षेत्रमा हराइन्। तर अहिले फेरि छाएकी छिन्।

दोहोरी गीत गाउने रहरका साथ खोटाङको राखा बाङदेलबाट २० वर्षअघि काठमाडौं आएकी प्रमिलाका शुरूका दिन संघर्षमै बिते। विभिन्न दोहोरी साँझमा राति अबेरसम्म गीत गाउँदा गाउँदै खारिएकी उनलाई पूर्वेली भनेर पश्चिमेली कलाकारले हेपेको पीडा ताजै छ। ‘पूर्वेलीले पश्चिमेली भाकाको गीत गाउन सक्दैनन् भन्दै हेप्थे’, प्रमिला विगतको स्मरण गर्दै भन्छिन्– ‘मैले शुरूमा गाएको फुलबुट्टे रातो साडीमा पश्चिमेली गीत चर्चित भएपछि बल्ल सिनियर भनिने कलाकारले लगाउने आरोप घट्न थाल्यो।’

अहिले आफ्नै शब्द संकलन, संगीत र स्वरमा केही गीत रेकर्ड गर्ने अन्तिम तयारी गरेकी उनी पछिल्लो समय लोक दोहोरीमा भने निरन्तर लागिरहेकी छन्। कलाकार नीलमणि भण्डारीसँग सहकार्य गरी स्टक नेपाल रोधीघर सञ्चालन गर्दै आएकी प्रमिला स्टक नेपाल डट कममार्फत दिनको एउटा लाइभ दोहोरी सञ्चालन गरिरहेकी छन्। मोडलिङमा पनि उत्तिकै रुचि राख्ने प्रमिला पछिल्लो समय लोकदोहोरी कलाकारको क्रेज घटेको र स्रोता दर्शक पनि घटेको दाबी गर्छिन्।

नाछिरिङ राई जातिको जन्मदेखि मृत्युसम्मको भेषभूषा, भाषा र संस्कृति सबै समेटिएको पहिलो डकुमेन्ट्री बनाउने पनि उनै प्रमिला हुन्।

प्रतिक्रिया दिनुहोस्