भारतमा नेपाली किड्सलाई उपाधि



हालै भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धी उपाधिसहित नेपाल फर्किएका छन्।

भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकी साइब्या घिमिरेले उपाधि जित्न सफल भइन्। ५ देशबाट सहभागी ५२ जना प्रतिस्पर्धीबीचबाट घिमिरे विजेता बन्न सफल भएकी हुन्। त्यसैगरी यसै प्रतिस्पर्धामा नेपालकै अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनर्सअप भए। लिटिलतर्फ नै नेपाली प्रतिस्पर्धी नमन मित्तलले बेस्ट फोटोजेनिक टाइटल जिते।

एकैसाथ सम्पन्न २ इभेन्टमा ५ जना नेपाली प्रतिस्पर्धीले उपाधिका साथमा अन्य विधाका पनि टाइटल हात पारेका छन्। टिन एस्थेटिक्स किड्स फेसन रनवेमा भने नेपाली प्रतिस्पर्धी प्रेजु कायस्थ दोस्रो भइन्। त्यसैगरी नेपालका तर्फबाट प्रतिस्पर्धामा भाग लिएकी महिमा बज्राचार्यले यस विधामा ट्यालेन्टेड पर्सनालिटिज जित्न सफल भइन्। गत वैशाखमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा काठमाडौंमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभाका विजयी प्रतियोगीले भारतमा किड्स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन्। नेपालका विजयी प्रतियोगीको हैसियतले ५ जना प्रतिस्पर्धीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टले भारतमा सो प्रतियोगितामा सहभागिताका लागि लगेको हो। नेपालबाट प्रतिस्पर्धामा भाग लिएका पाँचै जना प्रतिस्पर्धी कोही खाली हात भएनन्।

भारतमा सम्पन्न प्रतियोगितामा पनि नेपाली प्रतिस्पर्धीका लागि नेपालका इन्टरनेसनल कोरियोग्राफर साथै रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजुले कोरियोग्राफी गरेका थिए भने प्रतिस्पर्धीको ड्रेस डिजाइन श्रीषा बैदार फैजुले गरेकी हुन्। प्रतियोगितामा नेपाल र भारतका साथै दुबई, सिंगापुर र मलेसियाबाट समेत जम्मा ५२ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्