भिल्लको देशमा मणि



कमल ढकाल,
“एउटा मान्छे जन्मँदा ४ अरब शुक्रकिटलाई जित्छ र जन्मँदै विजेता बनेर आएको हुन्छ।’ महान् विद्वान टोनी बुजानले भनेको यो कुराबाट थाहा लाग्छ कस्तो शक्तिशाली छ मान्छे। आफ्नै शक्ति नचिनेर ऊ कस्तुरीझंै यहाँ र उहाँ हिँड्दा मान्छे कमजोर बनेको छ।

लक्ष्य थाहा नपाएर भ्रममा भौतारिइरहेको छ मान्छे। लक्ष्य लिएको मान्छे त्यो नभेटेसम्म हिँडिरहन्छ। लक्ष्यबाट विचलित हुनेको गति कस्तो हुन्छ भन्नेबारे एक कथा यस्तो छ। एकपटक देवराज इन्द्र यमराजलाई विशेष कामले भेट्न गएछन्। बाटोमा नदी थियो। नदीको किनारमा यमराज थिए। हिँड्दै गरेका इन्द्रले बाटोमा सुनको कमल फूल उल्टो गतिमा गइरहेको देखे। मनमा प्रश्नले लखेट्यो। कहाँ जान्छ यो फूल आज? पछयाऊँ न त।

फूलको पछि–पछि जाँदा इन्द्र हिमालयको छेउमा पुगे। त्यो एकलासको ठाउँमा अत्यन्त रूपवति केटी रोइरहेको देखे। इन्द्रलाई को हुन् यी किन रोइन् बुझ्न मन लाग्यो। सोधि पनि हाले। केटीले आफ्नो पछि लाग्ने इशारा मात्र गरिन्। इन्द्र रूपवतिको पछि लुरुलुरु लागे। त्यस्तो हिमालको टुप्पोनजिक एक जोडी प्रेम आलिंगनमा चुर्लुम्म डुबेको देखे। आफू आएको पनि नदेखेका उनीहरूदेखि इन्द्रलाई रिस उठ्यो। म त इन्द्र पो हँु। मेरोअगाडि यस्तो। इन्द्र चिच्याए। को हो तिमीहरू ? जब त्यस जोडीले इन्द्रलाई हेरे। सातो पुत्लो उड्यो इन्द्रको। जोडी त शिव पार्वती पो रहेछन्। शिवजीले श्राप दिए। देव योनीबाट मानव योनीमा जन्म हुनुपरोस्।

कहाँ हिँडेका इन्द्र कहाँ गएर फसे। कारण एउटै थियो। लक्ष्यबाट विचलित भई अन्य आकर्षित कुरामा भुल्दै गएका कारण न किनारपारिका यमराजलाई भेटे। न अरू देखिएका कुराबाट नै सन्तोष मिल्यो।

सरकारलाई भने डाक्टर ऋषिजस्तो मान्छे भिल्लको देशमा मणिझैं भएको छ। माल पाएर पनि चाल नपाएपछि डाक्टर ऋषिको स्वास्थ्य क्षेत्रमार्फत देश नै धनी बनाउन सकिने सपना थाति नै रहेको छ।

 

३५ वर्षदेखि एउटै क्षेत्रमा लागेर सफलताको मीठो फल चाखेका डक्टर ऋषि कोइरालाले यो कथा पढे पनि नपढे पनि व्यवहारमा लक्ष्यबाट कहिल्यै विचलित भएका रहेनछन्। त्यसैले त आयुर्वेदिक औषधिलाई मान्छेले त्यति मतलब नगरेको वर्तमान समयमा डक्टर ऋषि भने विदेशीलाई क्यु लगाएर नेपालमा उपचार गर्दैछन्। वर्तमान डिप्रेसिभ राजनीतिले गोरो छाला देख्नेबित्तिकै जी हजुरी गर्नेबीच डक्टर ऋषि त्यस्ता नेपाली हुन् उपचार गराउन विदेशीहरूले उनलाई खर्च दिएर बोलाउँछन्। उपचारकै लागि डक्टर ऋषि क्यानडा, अस्ट्रिया जापान र जर्मनलगायतका २४ देश गइरहन्छन्।

सुन्नेलाई अचम्म लाग्न सक्छ उपचार गराउन नेपाली आयुर्वेदका डाक्टर विदेशमा। हीन मनोग्रन्थीले ग्रसित नेपालीका बीचमा डाक्टर ऋषि एक ग्लुकोज हुन् जसको नामले पनि नेपाली हुनुको आनन्द आउँछ। उनले संसारका विभिन्न मुलुकमा गई वर्षाैंदेखि चुपचाप हजारांै विदेशीलाई उपचार गराइसकेका रहेछन्। विभिन्न देशमा एक विज्ञको हैसियतमा जाने उनलाई अस्ट्रियाको भियनास्थित लेडी गाइड म्यागाजिनकी चिफ इडिटर सिल्भिया सिमा कार्लले नेपालमा किन जाने आयुर्वेदका लागि भारत र श्रीलंका पनि त राम्रो छ नि ? भन्ने प्रश्न गरेकी रहिछन्। यस्तो प्रश्नमा देशभक्तिले भरिपूर्ण डाक्टर ऋषिले नेपाल हेल्थ टुरीजमका लागि राम्रो ठाउँ रहेको बताएका रहेछन्। आयुर्वेदिक औषधिको इतिहास वेदसँग जोडिएको छ। त्यसमा प्राचीन ऋषिमुनीहरूले हिमालका जडिबुटीबाट आयुर्वेदिक औषधि बनाउने लेखिएको छ। नेपाल हिमालयन कन्ट्री भएकाले नेपालमा आउनुले विशेष महत्व राख्छ।

ऋषिको ज्ञानले बाहिरकालाई जति महत्व राखेको छ नेपालीलाई भने धेरै कम। धापासीको शहन्शाह होटलनजिकै रहेको उनको आयुर्वेदा होममा नेपालीको भन्दा विदेशीको ताँती देख्दा आफंै पनि चकित परियो। डाक्टर कोइरालाले भन्दै थिए– ‘भर्खर गएकी ती गोरी जर्मनकी नमुद प्रोफेसर हुन्।ु लाग्यो हीराको महत्व नजिक बस्नेले थाहा नपाउनेरहेछ। टाढाबाट नै टल्कनपर्ने रहेछ। ९७ राष्ट्रका मान्छे एक दिनदेखि ३५ दिनसम्म उपचार गरेका छन् उनको क्लिनिकमा। नेपालीलाई त्यत्ति सुइँको नै छैन।

प्राइभेटमा नेपालको पहिलो मानिएको आयुर्वेदा होमले दिनदिनै तरक्की गर्दैछ। चुपचापसँग। जापानकी जुन्को तावेईदेखि विभिन्न देशका प्रोफेसर अनि विदेशका मन्त्री आउँदै जाँदै गर्छन् यहाँ। संसारका प्रख्यात ती हरेक मान्छेलाई उनी पनि केवल बिमारीको ढंगमा समान व्यवहार गर्दै पठाउँछन्। आएका बिमारीको थप प्रचार गर्दा भीड बढ्दै गएको छ।

जन्मँदै जर्नेल हुने परिवार हैन ऋषिको। लमजुङ किरिचेको दोरा डाँडा पारिपट्टिको मध्यम परिवारमा जन्मेका उनका बाबुआमा सानैमा बिते। दाजुको काखापोल्टामा हुर्केका ऋषिको नवलपरासी सरेपछि त्यही नै शिक्षादीक्षा भयो। ६ भाइमध्ये काइँलो थिए ऋषि। जेठो दाजु हेमराज कोइराला प्रजातान्त्रिक आन्दोलनका कारण जेल जेल परे। राजैतिक संस्कार बोकेको परिवार भएकाले पनि पढ्नैपर्छ भन्ने ऋषिमा परेको थियो।

उमेरले कसलाई पो छोड्छ र ? गरे पनि नगरे पनि बढ्छ। स्कलरसिप लिएर नरदेवीमा पढेका ऋषि आयुर्वेदमै तानिँदै गए। जहाँ गरे पनि राम्रो गर्न सक्छु भन्ने जब मान्छेले सोच्छ मान्छे स्वतः राम्रो बन्दै जान्छ।। १० वर्षको इतिहासमा सबैभन्दा बढी मार्क ल्याएको मान्छेमा उनी नै गनिए। कोलोम्बो प्लानबाट ग्वालिअरको युनिभर्सिटी पढे। पढेर फर्केपछि आयुर्वेदमा अधिकृत भए। नरदेवी आयुर्वेदिक अस्पतालमा काम गर्न थाले। १३ वर्ष खाएको सरकारी जागिर छाडे। ६ दशक प्लसका ऋषिका दुवै छोरा आ–आफ्नो काममा लागिसके।

राम्रो गर्नुपर्छ, जैले पनि दिन आउँछ। बनारसमा पढ्दा मेहनत गरेर रिसर्च गरेका थिए डाक्टर ऋषिले। रिसर्च देखेर बनारसबाट जर्मनीहरू उनलाई लिन नेपाल आए। जर्मनीलाई उपचार गराउन जान आउने गर्छन् उनी। अहिले आयुर्वेदा होममा जर्मनको सहयोग छ।। विगत डेढ दशकदेखि आयुर्वेदा होम मज्जाले चलिरहेको छ। ४ जनाबाट शुरू गरेको ठाउँमा अहिले ६० प्लस स्टाफ छन्। राजधानीबाहिर पोखरामा पनि खोलिएको छ। सरुवा रोग र २४ घन्टा एटेन्सन दिनुपर्ने रोगबाहेक अरू सब उपचार हुन्छ।

अस्पताल, एकेडेमी, रिसर्च सेन्टर बनाउन ऋषिमार्फत ८२ करोडको प्रोजेक्ट आएको थियो विदेशी सहयोगमा। आफ्नो देशमा आउने कामलाई पनि सरकारी तवरबाट असहयोग हँुदा त्यत्तिकै तुहियो। जपानी प्रोजेक्ट हार खाएपछि फेरि ६२ करोडको नेसनल आयुर्वेद रिसर्च सेन्टरको प्रपोज आयो त्यो पनि असहयोगका कारण बन्न सकेन। ऋषि आफैंमा आयुर्वेद क्षेत्रको एक कल्पवृक्ष हुन्। जसको फेंदमा बसेर सरकारले र जनताले धेरै फाइदा लिन सक्छन्। विदेशीले अहिले पनि उनलाई ६० मिलियनको प्रोजेक्टको इन्टरनेसनल कन्सल्टेन्ट बनाउँदैछन्। सरकारलाई भने डक्टर ऋषिजस्तो मान्छे भिल्लको देशमा मणिझंै भएको छ। माल पाएर पनि चाल नपाएपछि डाक्टर ऋषिको स्वास्थ्य क्षेत्रमार्फत देश नै धनी बनाउन सकिने सपना थाति नै रहेको छ।

जैविक विविधताले भरिपूर्ण यो देशमा हेल्थ टुरिजम गर्न सकिने आयुर्वेदको विश्वविद्यालय र रिसर्च सेन्टर डेभलप गरेर संसारलाई आकर्षित गर्न सकिने उनका कुरा कसैले सुनिरहेका छैनन्। अरूले नसुने पनि भाइ बद्री र केही जर्मन सहयोगीलाई लिएर गरेको यो धिपधिपे दियोजस्तै आयुर्वेदा होमले भए पनि नेपालको नाम विश्वभर चिनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्