भदौबाट धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध



काठमाडौं, (नेस)
सरकारले आगामी भदौ १ गतेबाट धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ। सवारी साधनबाट निस्किने धूवाँको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरणमा समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो।

सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिकाभित्र सवारी साधन चेकजाँच गराई हरियो स्टिकर प्राप्त सवारी साधनले मात्र सञ्चालनको अनुमति पाउने भएका छन्।

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै धूवाँ फ्याँक्ने सवारी साधन नियन्त्रण गर्ने तयारी गरे पनि चेकजाँच गराउने मेसिन सम्बन्धित कार्यालयमा नपुगेका कारण भदौबाट उक्त नियम लागू गर्न लागेको हो।

यायातात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण जाँचसम्बन्धी उपकरणहरू सबै यातायात कार्यालयका पुग्ने क्रममा रहेको बताउँदै भदौ १ गतेबाट हरियो स्टिकरबिना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नपाइने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सवारी चेकजाँच गर्ने उपकरण सञ्चालन गर्ने कर्मचारीले तालिम लिइसक्नुभएको छ, उपकरण पनि सम्बन्धित कार्यालयमा पुग्ने क्रममा छ, भदौ १ गतेबाट नियम लागू हुन्छ।’

उहाँले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिकाभित्र सञ्चालन हुने सम्पूर्ण चारपाङ्ग्रे सवारीका साधनलाई अनिवार्यरूपमा आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गएर सवारी साधन चेकजाँच गरी हरियो स्टिकर लिएर मात्र सवारी साधन सञ्चालन गर्न आग्रह गर्नुभयो।

भदौ १ गतेबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका र काठमाडौं उपत्यकामा धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालन नहुने भएका छन्। विभागले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारी साधनको धूवाँ परीक्षण गर्नका लागि ४० वटा अटोमेटिभ एक्सहन्ट ग्यास एनालाइजर मेसिन खरिद गरेको छ। मेसिन महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं उपत्यकामा रहेको यातायात कार्यालयमा समेत जडान हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्